काठमाडौं,१५ वैशाख । करिब एक दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी नायिका केकी अधिकारीले पछिल्लो समय चलचित्र निर्माणमा समेत हात हालेकी छन् । नायिका केकीले चलचित्रमा अभिनय गर्नभन्दा निर्माण गर्न निकै गाह्रो भएको बताएकी छन् ।
‘चलचित्र निर्माण गर्दा धेरै गाह्रो हुँदो रैछ’ उनले भनिन्- ‘सम्पुर्ण व्यवस्थापन पनि गर्नुपर्छ, समय पनि झण्डै एक वर्ष नै छुट्याउनुपर्छ ।’ अभिनयको क्रममा नै चलचित्र निर्माण गर्न सोच बनाएको र उपयुक्त समयको पर्खाइमा बसिरहेको उनले बताइन् ।
राम्रो स्कृप्ट र उपयुक्त समय मिलेपछि आफुले चलचित्र कोहलपुर एक्सप्रेस निर्माण गरेको उको भनाइ छ । साथै अबका दिनहरुमा समेत राम्रो स्कृप्ट मिलेको खण्डमा अभिनय सँगै निर्माणलाई पनि अघि बढाउने सोच बनाएको उनले बताइन् ।
‘चलचित्र निर्माण गर्ने पहिले देखिकै सोच हो’ उनले भनिन्, ‘पछि पनि अभिनय सँगै निर्माणलाई निरन्तरता दिन्छु ।
बैशाख १४ गते शुक्रबारबाट देश व्यापीरुपमा उनले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेस प्रदर्शन हुँदैछ । चलचित्र निर्माणमा उनलाई अन्य केहीले साथ दिएका छन् ।
चलचित्रमा ऋचा शर्मा, प्रियंका कार्की, केकी अधिकारीलाई मुख्य रुपमा देखाइएको छ । विशाल भण्डारीले निर्देशन गरेको सो चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
पहिलो पटक निर्माण गरेको चलचित्रमा आफुले निकै मेहनत गरेको र कथा समेत निकै राम्रो रहेको उनले बताएकीछन् । चलचित्र राम्रो बनेकाले दर्शकहरुले रुचाउने उनले विश्वास लिएकीछन् । चलचित्रको गित र ट्रेलर समेत हिट बनेको छ ।

