बेइजिङ,६ वैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच बेइजिङमा अर्थपूर्ण भेटघाट भएको छ ।
नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोडमार्फत क्रस हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमतसमेत भएका हुन ।
बुधबार बेइजिङमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ । परियोजना छनोट गर्न तथा चिनियाँ सरकारको सहयोगमा बन्ने परियोजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संयन्त्र निर्माण गर्ने सहमति भएको छ ।
भेटपछि चिनियाँ विदेशमन्त्री वाङले भने, ‘हामीलाई विश्वास छ जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउँछ ।’
अघि भने, आशा छ, यस्तो सहकार्यले तीन देशको विकास र समृद्धिमा सहयोग गर्नेछ । नेपाल र चीनबीच नेपाल र चीनलाई जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ ।
दुई देशका परराष्ट्रमन्त्रीबीच केरुङदेखि काठमाडौंसम्म नेपाल९चीन सीमापार रेलमार्ग तथा काठमाडौं९पोखरा९लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डीपीआर गर्नेबारे छलफल भएको छ ।
चिनियाँ समकक्षी वाङसँगको संयुक्त पत्रकार सम्मेलनमा परराष्टमन्त्री ज्ञवालीले भने, ‘नेपालबाट आधुनिक रेल चढेर हिमालको प्रकृतिक सौदर्य अवलोकन गर्दै चीन आउने मेरो सपना छ ।
चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड दिएको छ । विदेशमन्त्री वाङले भने, ‘मलाई लाग्छ, चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार हुन् । हामी एकै पहाड र नदीसँग जोडिएका छिमेकी हो । जसरी हामी चीनमा भन्छौं, परिवारका सदस्य र छिमेकीले एकअर्काको भलो चाहन्छन् ।
नेपालले ‘कनेक्टिभिटी’लाई मुख्य प्राथमिकता दिएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले रेल र सडकका साथै ट्रान्समिसन लाइनमा चीनसँग साझेदारी गर्न चाहेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार भेटमा मार्च २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सहमति कार्यान्वयनमा भएको प्रगतिको समिक्षा भएको छ ।
हामीले पारवहन सम्झौताबारे विमर्श गर्यौं र आगामी दिनमा यसलाई अन्तिम रुप दिन छलफल अझ तीव्र बनाउन सहमत भयौं’ उनले भने, ‘चीनसँगको व्यापार घाटा कम गर्ने सहयोगी उपाय अपनाउन विदेशमन्त्री वाङसँग आग्रह गरेँ ।
नेपालले तातोपानी नाका खोल्ने र अरु नाकाहरु स्तरोन्नतीबारे कुरा उठाएको छ । अहिलेका सीमा नाकाहरुस्तरोन्नति गर्न दुबै पक्ष सहमत भएको मन्त्री ज्ञवालीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगतै बेइजिङ पुगेका ज्ञवालीले उपराष्ट्रपतिलाई पनि भेटेका छन् । उनले ओलीको चीन भ्रमणका साथै चिनियाँ राष्ट्रपति शी जिनपिङलाई पनि नेपाल भ्रमणका लागि परामर्श गर्नेछन् ।
उच्चस्तरीय भ्रमण र स्थापित संयन्त्रहरुबीच नियमित बैठकलाई निरन्तरता दिने सहमति भएको ज्ञवालीले बताए । उनले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्ता पनि दिएका छन् ।

