टोकियो । भगवान गौतम बुद्ध जन्मस्थलबारे भारतले गरिरहेको गलत प्रचारलाई रोकि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन विगत ४ वर्षदेखि जापानमा आयोजना गरिँदै आएको शान्ति र्याली यसपाली यहि अप्रिल २९ तारिखमा गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता पर्शु बस्नेतका अनुसार, यस पटकको शान्ति र्याली, गैरआवासीय नेपाली संघ जापानको आयोजनामा हुनेछ। विगतका वर्षहरुमा भने,नेपाल जापान युथ क्लब र विई फ़र अल नामक सामाजिक सँस्थाहरुको आयोजनामा हुँदै आएको थियो ।
केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाको विश्वास छ । यस पटकको र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गर्नेछन् ।
बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित अप्रल २९ तारिख बिहान ९:४५ बजे टोकियोको सिन्जुकु चोउ पार्कमा भेला भई १०:३० देखि ११:३० सम्म तोकिएको निशिचित स्थानसम्म शान्तिपूर्ण र्याली गरिने छ ।
बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी हुन आग्रह गरिएको छ । आयोजक संस्थाले संभव भएसम्म नेपाली झण्डा र मौलिक पहिरन सहित उपस्थित हुनका लागि अनुरोध पनि गरेको छ ।
साथै, सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका प्लेकार्ड पनि ल्याउन सक्ने आयोजकले जनाएको छ ।
@ राजन गौतम्-नेपाल न्यूज पोष्ट

