बुधबार, असार १०, २०८३

धादिङ् समाज जापानद्वारा आजिवन सदस्यता खुल्ला

टोकियो । धादिङ् समाज जापानले आजिवन सदस्यता खुल्ला गरेको छ ।

संस्थाको आईतबार बसेको बैठकले,धादिङ् जिल्लाबाट आई विभिन्न पेशा,व्यवसाय तथा अध्यायनमा संलग्न भई जापानमा वसोवास गर्दै आएका धादिङेलीहरुलाई आजिवन संस्थामा आवद्द गराउने उदेश्यले यस किसिमको सदस्यता खुल्ला गरिएको हो । संस्थाका अध्यक्ष कृष्ण खनालका अनुसार,आजिवन सदस्यता लिनेहरुका लागि संस्थाले विभिन्न सेवा,सुविधाहरुको व्यवस्था गर्नेछ । तत्कालक गरिएका निर्णय अनुसार आजिवन सदस्यताको लागि १ मान जापानी येन शुल्क निर्धारण गरिएको छ । १ मान शुल्क तिरेर आफु बाँचुन्जेल संस्थाको सदस्यता त रहने मात्र नभई संस्थाबाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरुको लाभ पनि लिन सकिने छ ।

आजिवन सदस्यहरुका लागि,जापानमा बिरामी परी जापानमै उपचार गराउँदा,१० मान येन भन्दा बढी खर्च लागेको अवस्थामा ५ मान येन उपचार खर्चको व्यवस्था गरिनेछ । त्यसै गरी आजिवन सदस्यको जापानमा निधन भएको खण्डमा आश्रित परिवारका सदस्यलाई २० मान येन सहयोग उपलब्ध गराईने छ ।यसका अलवा,आजिवन सदस्य कसैले उच्च अध्यायन (पिएचडी) गरे सम्मान सहित पुरस्कृत गरिनेछ । त्यस्तै आजिवन सदस्यलाई प्रसुती सुबिधा स्वरुप जापानमै बच्चा जन्माएको खण्डमा,५ मान येन आर्थिक सहयोग प्रदान गरिनेछ । यसका साथै, सदस्यका जापान भ्रमणमा आएका आमा/बुबालाई विशेष स्वागत तथा सम्मान कार्यक्रम पनि गरिने बताईएको छ ।

धादिङ् समाज जापान,जापानमा रहेका सम्पुर्ण धादिङ्लीहरुलाई संस्थाको माध्यमबाट एक जुट गराई परदेशमा आईपर्ने विभिन्न समस्याहरुको समाधान तथा धादिङ्को भौतिक,शैक्षिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उदेश्यका साथ सन २०१३ देखि क्रियाशील रहेको छ ।