मङ्गलबार, बैशाख ०८, २०८३

पोखरा विश्वविद्यालय स्ववियू सभापतिमा अनेरास्ववियुका तिमिल्सेना विजयी

पोखरा,२३ चैत । पोखरा विश्वविद्यालय स्थापनाको २१ वर्षपछि पहिलो पटक भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्ववियू सभापतिमा अनेरास्ववियुका सुनिल तिमिल्सेना विजयी भएका छन् ।

अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै तिमिल्सिनाले ८ सय ४५ मत ल्याए । सभापति पदका प्रतिस्पर्धी नेविसंघका डिफान भुजेलले ६ सय १९, अखिल क्रान्तिकारिका सुधन पन्तले ४९, स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी अनेरास्ववियुकी बागी कुसुमशिला भट्टले एक सय ४८ र स्वतन्त्र उम्मेद्धवार सुवाषप्रसाद पौडेलले ७५ मत प्राप्त गरे ।

अनेरास्ववियूका सुरज परियार ९ सय १४ मत ल्याई सचिवमा विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका नारायण सापकोटाले ५ सय ४० र अखिल क्रान्तिकारीका विनायक तिमिल्सिनाले एक सय ३० मत प्राप्त गरे ।

कोषाध्यक्षमा अनेरास्ववियुकी प्रकृति दवाडी ७ सय २१ मत ल्याई विजयी भइन् ।

प्रत्यक्ष सदस्यतर्फ अनेरास्ववियूका आशिष केसी, यमुना क्षेत्री, विनोद बुढा, धनश्याम डुम्रे, सन्देश तिमिल्सेना, नरेश खनाल विजयी भए । नेविसंघको तर्फबाट सरोज साह र गणेश रिमाल विजयी भए ।

यस्तै समानुपातिक तर्फ अनेरास्ववियू ८७३ ,नेविसंद्य ६१४ , अखिल क्रान्तिकारी २३२ र अखिल छैठौंले ४२ मत प्राप्त गरे ।

कुल खसेको १७६९ मत मध्य ८ मत बदर भएको थियो ।