मङ्गलबार, जेठ १२, २०८३

राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपल्ट संसदमा सम्वोधन

काठमाडौं,१६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पहिलोपल्ट संसदमा सम्वोधन गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाईसम्बोधन गर्दै उनले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताइन् ।

राष्ट्रपति भण्डारीले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गरिन् । निर्वाचनपछि पहिलो पटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् ।
भण्डारीले आर्थिक समृद्धिको नारा बोकेको तीन तहको सरकारले सोही नारालाई पूरा गर्ने गरी आफूलाई सक्रिय बनाउनु पर्ने बताएकी छन् । उनले सरकारको नारा खोक्रो बन्न नदिन एकजुट भएर काम गर्न सांसदहरुलाई आग्रह गर्दै भनिन, ‘समृद्धिको नारा सर्वसाधरणले अनुभव गर्न पाउन् ।’ राष्ट्रपति भण्डारीले तीन वटै तहका चुनाव सम्पन्न भएपछि देशले संक्रमण पार गरेको र अब विकासको चरण शुरु भएको बताइन् ।

 

संघीय संसद्का दुवै सदनलाई केही बेरअघि संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संक्रमणबाट अघि बढेर अब देश विकास र समृद्धिका लागि एक हुन आह्वान गरिन् । उनले लोकतन्त्र मानिसको जीवन पद्धति र अनुभूत गर्ने विषय भएकाले जनताले जीवनस्तर सुधारको अनुभूति गर्न नसकेमा यो केवल खोक्रो नारा सावित हुने विचार व्यक्त गरिन् ।

संसदमा सम्बोधन गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए । संघीय संसद भवनमा राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका उपाध्यक्ष र संसद सचिवालयका महासचिवले स्वागत गरेका थिए ।

 

राष्ट्रपति भण्डारीलाई संसदमा स्वागत गर्दै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । शीतल निवासबाट गाडीमा सवार राष्ट्रपति भण्डारी शान्तिनगर गेट पुगेपछि बग्गीमा चढेर संसद भवन पुगेकी थिइन् ।