काठमाडौं,२८ फाल्गुन । कवि तथा लेखक बिकु लामाको कविता कृति ‘सपनाको ट्रान्जिटमा’ निकै चर्चा कमाएको छ ।
कवि तुलसी दिवस, विप्लव ढकाल, उपन्यासकार माया ठकुरीलगायतले गत हप्ता मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको उक्त कृति देशविदेशमा चर्चा कमाएको हो । उक्त कविता कृति ‘सपनाको ट्रान्जिटमा’ जापानमा पनि चर्चा कमाएको छ ।
जीवनका विविध विषय र आयाममा लेखिएका ३३ थान कविता समावेश गरिएको उक्त कविता कृतिबाट कवि अमृता स्मृति, सुनिता खनाल र बाबु त्रिपाठीले एक एकवटा कविता वाचन गरेका थिए । नेपाली भाषामा कविता लेख्दैमा नेपाली कविता हुँदैन भन्दै कवि तुलसी दिवसले लामाका हरेक कवितामा नवीन, मौलिक र निजत्व रहेको बताए । उनले भने, ‘आफ्नो कविताको वकालत गर्न नसक्ने कविले कविता लेख्न छोड्नुपर्ने समय आइसकेको छ । कविले सधैँ सामाजिक मुद्दा भन्दै दुस्खका र रोदनका कविता लेख्नु गलत भन्दै कवि दिवसले कवितालाई विश्लेषण र व्याख्या गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताए ।
यी कवितामा समाजको यथास्थितिवाद विरुद्धको विद्रोहको भाव झल्केको छ ।यसअघि बिकु लामाका ,सोइनमु यात्रा उपन्यास, मृत्यु बिर्सिनेहरू कवितासंग्रह बजारमा आइसकेका छन् । ‘सपनाको ट्रान्जिटमा’ सोइनम बुक्सले बजारमा ल्याएको हो ।
