टोकियो,५ फाल्गुन । गैरआवासीय नेपाली संघ जापानले नेपाल आइडल टिमका कलाकारका साथ आयोजना गर्ने भनेको “हिमालयन ल्होसार नाईट – २०१८”स्थगन भएको छ ।
आयोजक एनआरएनए जापानले शुक्रबार एक विज्ञप्ति जारी गरि पुर्वघोषीत “हिमालयन ल्होसार नाईट २०१८” का सम्पुर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगन गरिएको जनाईएको छ । प्रवक्ता पर्शुराम बस्नेतका अनुसार कार्यक्रम बृहत् हुने हुँदा तयारी तथा व्यवस्थापनका लागि समय पर्याप्त नपुगेकाले स्थगन गर्नुपरेको हो । बस्नेतले भने -“कार्यक्रम सम्बन्धी नयाँ कार्यतालिका छिट्टै प्रकाशित गर्नेछौँ ।” साथै आयोजकले संस्थाले उक्त दिनको लागी समय व्यवस्थापन गरीसक्नु भएका जापानवासी नेपालीहरूमा पर्न गएको असुविधा प्रति संस्थाको तर्फबाट क्षमायाचना पनि गरेको छ ।
एनआरएनए जापानले आपत्कालिन् राहतकोष ( जापानमा बस्ने नेपालीहरूमा भइपरी आउँदा खर्च गरिने कोष)लाई निरन्तरता दिँदै उक्त कोष अभिवृद्धि गर्नको लागी नेपाल आइडल को टीमलाई जापान आमन्त्रण गरी भव्य सांगितीक कार्यक्रम गर्ने घोषणा गरिएको थियो । यसअघि घोषित कार्यक्रम अनुसार, बृहत सांगितिक कार्यक्रम “हिमालयन ल्होसार नाइट -२०१८” २५-फेब्रुअरी टोकियो १-मार्च फुकुओका र ३ मार्च नागोया लगायतका छुट्टा-छुट्टै शहरहरूमा आयोजना गरिने बताईएको थियो ।
