काठमाडौं,१ माघ । थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा काठमाडौंको टुँडिखेलमा थारु र मगर समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन् ।
हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् ।
माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।
चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइन्छ । माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ । माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिएसरह हुने धर्मशास्त्रमा उल्लेख छ । धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ । मकर संक्रान्तिको अवसरमा चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा ठूलो मेला लागेको छ । देवघाटधाममा मेला भर्न देशका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत तिर्थालुहरु आउने गर्छन् ।
आजै थारु समुदायले धुमधामका साथ माघी पर्व मनाउँदैछन् । आजदेखि पाँच दिनसम्म थारु समुदायले माघी पर्व मनाउने गर्छन् । बिहानै जलाशयमा गई स्नान तथा पूजा गरी आफूभन्दा ठूलाबडासँग आशिर्वाद लिने चलन छ ।
