काठमाडौं,८ पुस । गुरुङ जातिको मुख्य चाड तमू ल्होछार यो वर्ष पनि विभिन्न कार्यक्रमसहित मनाइने भएको छ । तमू ल्होछार मूल आयोजक समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी ल्होछार कार्यक्रमबारे जानकारी दिएको हो ।
‘तमू ल्होछार २०७४ को आह्वान – जातीय पहिचान सहितको प्रादेशिक नामाङ्कन हाम्रो अभियान भन्ने नाराका साथ तमू ल्होछार’ मनाउन लागेको मुल अयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङले जानकारी दिनुभयो । ल्होछारको सम्पुर्ण तयारी पुरा भएको संयोजक गुरुङले बताउनुभयो ।
कार्यक्रममा समितिका महासचिव लोकबहादुर गुरुङले पुस १३, १४ र १५ गते तीन दिन काठमाडौंको टुडिखेलमा सांस्कृतिक र खेलकुद कार्यक्रम गरिने जानकारी दिनुभयो । १३ र १४ गते खुल्ला लोक दोहोरी प्रतियोगित तथा नृत्य प्रतियोगिता हुने र १५ गते राजधानीमा रहेका तमू अर्थात गुरुङहरु टुडीखेलमा भेला भएर ल्होछार मनाइने आयोजकले जनाएको छ । गुरुङ जातिले ल्होछारलाई नया“ वर्षको रूपमा मनाउने चलन छ ।
वर्गको आधारमा उमेर गणना गर्ने तमू जातिले यो वर्ष चरा वर्ग अर्थात् च्ह्या–ल्होलाई बिदाई र कुकुर वर्ग अर्थात खि ल्होलाई स्वागत गर्दैछन् । गुरुङ जातिले विभिन्न १२ ओटा छुट्टछुट्टै जीवजन्तुहरुको चक्रलाई आधार मानेर प्रत्यक वर्ष तमू ल्होछार मनाउने गरेका महासचिव गुरुङले जानकारी दिनुभयो ।
गुरुङ जातिले हरेक वर्ष पुस १५ मा मनाउने ल्होछार तामाङले माघ शुक्लपक्ष प्रतिपदा र शेर्पाले फागुन शुक्लपक्ष प्रतिपदाका दिन मनाउने गर्दछन् ।
