लन्डन,४ मंसिर । नेपाल आइडल टप ४ सागर आलेको बेलायतमा हुने कार्यक्रमलाई एउटा प्रभावशाली जातीय संस्था मगर संघ यूकेले ‘बहिष्कार’ गर्ने भएको छ ।
गायक आलेले धोका दिंदै अर्को समूहसंग तालमेल गरि कार्यक्रम गर्न राजी भएपछि संस्थाले त्यस्तो अप्रिय निर्णय लिएको हो । मगर संघको स्थापना दिवस पारेर यूकेमा आलेलाई झिकाइ भव्य कार्यक्रम गर्ने संघ र आलेबीच पूर्व सहमति थियो ।
यसअघि जातीय एकता र सद्भाव देखाउंदै नेपाल आइडल प्रतिष्पर्धाबाट बाहिरिएपछि आलेलाई सान्त्वना स्वरुप मगर संघ यूकेले चन्दा संकलन गरि करिब ११ लाख रुपैयां हस्तान्तरण गरेको थियो ।
मगर संघ यूकेका सांस्कृतिक सचिव तुलचन्द्र तिलिजाले एक विज्ञप्ति प्रकाशित गर्दै संघका अध्यक्ष नेम थापाले पटक पटक सहकार्यका लागि आग्रह गर्दा समेत आलेले वेवास्ता गरेपछि वाध्य भएर उनको कुनै पनि कार्यक्रममा उपस्थिति नजनाउने निर्णय गरिएको विज्ञप्तिमा स्पष्ट पारेका छन् ।
