सोमबार, कार्तिक ११, २०८२

निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने : आयोग

काठमाडौं,१ मंसिर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा,प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ ।

स्थानीय निकायको मतपरिणाम आउने लामो समय लागिपछि आयोगको सर्वत्र आलोचना भएको थियो । जसका कारण आयोगले प्रतिनिधि र प्रदेश सभाको बढिमा एक साताभित्र परिणाम आईसक्ने गरी तयारी थालेको हो ।

मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले भन्नुभयो, प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ । उहाले अन्य भौतिक संरचना नभएका ठाउमा भने विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताउनु भयो ।

सम्वन्धित पक्षले भने सकेसम्म विद्यालयमा मतपेटिका नराख्न सुझाव दिएका छन् । उनिहरुले विद्यालयको पढाई प्रभावित हुन सक्ने भन्दै आयोगको ध्यानकर्षण गराएका छन् । स्थानीय निकायमा धेरै उम्मेदवार भएका कारण मत परिणाम आउन ढिलाई भएको भन्दै अहिलेको निर्वाचनमा भने कम उम्मेदवार रहेको र गणना गर्न पनि सजिलो हुने भएकाले चाडै परिणाम आउने बताइएको छ ।