शनिबार, माघ १८, २०८२

एनआरएनएलाई स्मार्ट र सबैको अपनत्व हुने बनाउनेछु : भवन भट्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष एवं सफल नेपाली उद्यमी भवन भट्टले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । विशेषगरि जापानमा कर्मथलो बनाएर नेपालदेखि युरोप लगाएतका देशहरुमा रेष्टुराँ, रिसोर्ट र होटलमा लगानी गर्दै आएक भट्टले नेपालमा होटल, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका छन् । काठमाडौंमा आगामी अक्टोबर १४ देख १७ सम्म हुने गैरआवसीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनमा अध्यक्ष दावेद्धार रहेका भट्टसंग प्रवासी नेपालीको समस्या र एनआरएनएको सम्मेलन लगाएतको विषयवस्तुमा गरेको कुराकानी  :

 

bhawan

भवन भट्ट
अध्यक्ष पदका उम्मेदवार
गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् 

काठमाडौंमा शनिबारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन सुरु भएको छ । महाधिवेशनले सन् २०१७–०१९ का लागि नयाँ कार्यसमिति निर्वाचन गर्नेछ । एनआरएनएको छैटौँ अध्यक्ष पदका लागि भवन भट्टले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा सहमतिको सम्भावना छ कि छैन ?

म खुला छु । संस्था हो, यसमा तँछाडमछाड गर्नुपर्ने आवश्यकता छैन । अनुभव कम भएका साथीहरूले नहतारिँदा राम्रो । कुनै इगो लिनुभन्दा पनि मिलेर अघि बढ्नु राम्रो हुन्छ । अझै पनि बसेर छलफल गर्न सकिन्छ । संस्थाको हितका लागि मिलेर अघि बढ्नु राम्रो हो ।

खासगरी लाप्राक परियोजना र एनआरएनएको आफ्नै भवन निर्माण गर्ने काममा तपार्इंहरूको प्रतिबद्धता नपुगेका कारण चुनावी मैदानमा आउनुपरेको प्रत्याशीहरूको भनाइ छ नि ?

प्रतिबद्धता नभएको कुरा गलत हो । आफैँले जन्माएको बच्चालाई कसैले छाड्छ ? लाप्राक बस्तीमा हजार घर बनाउने सुरुवाती प्रस्ताव मेरै थियो । अहिले त्यो साकार हुँदै छ, म खुसी छु । त्यो गृहजिल्ला मेरो हो, त्यसैले पनि परियोजनाप्रति बढी गम्भीर र प्रतिबद्ध छु । एनआरएनएको आफ्नै भवन बनाउने एजेन्डा म कोषाध्यक्ष हुँदा उठेको हो । आफ्नै भवन हुनुपर्छ भनी घोषणा गरेर सबैभन्दा पहिला ३० लाख रुपैयाँ दिने म नै हुँ । तर, जग्गा किन्न आफ्नै संस्था थिएन । त्यतिवेला संस्था थिएन, त्यसैले जीवा लामिछानेको नेतृत्वका वेलामा संस्था दर्ता भयो । अहिलेका अध्यक्षको पालामा काम अघि बढाउने मौका पाउनुभयो । मैले चाहेका प्रोजेक्ट ‘०’ देखि सुरु गर्नुपर्नेमा प्रक्रिया नै अघि बढिसकेको छ, किन छाड्थे ?

नेपाल र नेपाली जनताले एनआरएनबाट सीप, प्रविधि र पुँजी लगानीको अपेक्षा गरेका छन् । तर, अहिले अपेक्षित लगानी आउन नसकेको गुनासो छ नि ?

सरकारले प्रश्न गर्ने ठाउँ छैन । कति नेपाली विदेशमा छन् ? कति कमाउँछन् ? अनि कति लगानी गरेका छन् भन्ने सरकारसँग कुनै तथ्यांक छैन । सरकारले यस्तो डाटा बनाउनुपर्छ । सरकारले एनआरएनएले के गरे भनेर सोच्नुभन्दा हामीले उनीहरूलाई के गराउन सक्यौँ ? हामीले एनआरएनलाई ल्याउन सक्यौँ–सकेनौँ भनेर सोच्नुपर्छ । अहिले मेरो मुख्य नारा नै ‘सबै हात एकै साथ’ भन्ने छ । यहाँ एनआरएनएको हात मात्रै भनेको होइन, विश्वभर रहेका नेपालीको हात भन्न खोजिएको हो । अर्थात् नेपालमा बस्ने र नेपालबाहिर बस्ने नेपाली एक भएर समृद्धिमा लाग्नुपर्छ भनेको हो । यसमा सबैभन्दा फाइदा देशवासीलाई हुन्छ । राष्ट्र बनाउन सबै मिल्नुपर्छ । एनआरएनलाई दुःख दिनेभन्दा पनि सहजीकरण गर्ने हो । एनआरएनए, सरकार र देशवासीबीच समन्वय भए देश विकास हुन्छ । नत्र, दोहोरी खेलेजस्तो मात्रै हुन्छ । यहाँ मेलम्ची पनि २५ वर्षसम्म आएको छैन । हामीले यस्ता कमजोरी हटाएर सबै मिलेर सुधार गर्नुपर्छ ।

तर, अहिले एनआरएनएका अधिकांश माग पूरा भइसकेका छन् । एनआरएनएलाई नागरिकतादेखि अन्य सुविधासमेत दिइएको छ नि ?

यस्ता माग नेपालीलाई नेपाली बनाउने मात्रै थिए । यी पूरा भएकोमा हामी सकारात्मक छौँ । तर, यतिले मात्रै लगानी आउँदैन । लगानीका लागि अन्य व्यवस्था गर्न बाँकी नै छ । राष्ट्रले खोजेर, जानेर र बुझेर नीति ल्याउनुपर्छ । हामी ५० लाखभन्दा बढी नेपाली बाहिर छौँ, यो मुलुकको ठूलो रिसोर्स हो । त्यसैले किन आयौँ ? कसरी आयौँ भनेर प्रश्न गर्नुभन्दा पनि पाहुनालाई जसरी स्वागत गर्नुपर्छ । २ होइन, ४ दिनुपर्छ भनेर बोलाउनुपर्छ । भवन भट्ट नेपाल आउनु भनेको भवन भट्टको सम्पत्ति, संस्था र उसका सम्बन्ध पनि आउँछन् । यसप्रति हामी गम्भीर हुनुपर्छ ।

तपार्इंहरू पहिलो पुस्ताको एनआरएनए हो । तपार्इंहरूमा देशप्रतिको माया, भावना तथा संवेदना रहेको छ । तर, दोस्रो र तेस्रो पुस्तामा यस्तो इच्छा, भावना र लगाब देखिँदैन । एनआरएनए अभियानमा उनीहरूलाई कसरी ल्याउन सकिन्छ ?

यो साँच्चै नै कमजोरी र चुनौती दुवै हो । यसमा उनीहरूलाई आकर्षण गराउन सक्नुपर्छ । नेपाली रगत भएको ‘जिन सेल’ गर्नुपर्छ । तिमी चानचुने देशका होइनौँ, सगरमाथा र बुद्धको देशको रगत छ तिम्रो शरीरमा भनेर उनीहरूलाई आकर्षित गर्नुपर्छ । यसमा मिडियाले पनि भूमिका दिनुपर्छ । यस्ता मेकानिजमलाई विकास गर्नुपर्छ । मलाई राष्ट्रनिर्माण नभएसम्म निद्रा लाग्नेछैन ।

वर्तमान कार्यसमितिले ल्याएको भिजन २०–२० मा एनआरएनएकै थुप्रैको असहमति र विवाद रहेको पाइएको छ । यसमा तपाईंको धारणा के हो ?

कुनै विषय पूर्ण रूपमा विवादरहित हुन्छ भन्ने छैन, अर्थात् कहीँ न कहीँ कसै न कसैको असहमति हुन सक्छ । भिजन २०–२० मा पनि केही असहमति रहेका छन् । तर, त्यसलाई मिलाएर सबैका विचार समेटेर लैजानुपर्छ । यसका राम्रा पक्ष धेरै छन् । यसमा केही चित्त नबुझ्ने पक्ष पनि होलान । तर, भिजन देख्नैपर्छ । यो संस्था एकजनाको मात्रै होइन, सबै आस्थावान्को एनआरएनको भिजन समेटिनुपर्छ । मैले एउटा ठूलो घर बनाएँ भने तपार्इंले भवन भट्टको घर भन्नुहुन्छ । तर, तपाईं–हामी सबैले मिलेर घर बनायौँ भने यो हाम्रो घर भन्ने भावना हुन्छ । घर सानै होला, तर अपनत्व सबैको हुनुपर्छ ।

bhatta

अध्यक्षका प्रत्याशी, गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष भवन भट्ट सफल युवा उद्यमी हुन् । २० वर्षअघि गोर्खाबाट उच्च अध्ययनका लागि जापान गएका भट्टको लगानी नेपाल, जापान, युरोपलगायतका मुलुकमा रहेको छ । उनी जापान एनसिसी तदर्थ समिति सदस्य, जापान एनसिसी अध्यक्ष हुँदै एनआरएनए अन्तर्राष्ट्रिय परिषद्को एकपटक कोषाध्यक्ष र दुईपटक उपाध्यक्ष भइसकेका छन् । उनले अहिले ‘नयाँ युगको सुरुवात : सबैको हात एकै साथ’ भन्ने नाराका साथ एनआरएनए अन्तर्राष्ट्रिय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

एनआरएनएमा गुट–उपगुट र राजनीति धेरै देखिन थालेको छ । अहिलेको चुनावमा अझ बढी गुट र राजनीति हाबी भयो भन्ने आरोप छ नि ?

त्यस्तो होइन । अहिले मुलुकभित्र हुन थालेका चुनावका लागि नेता–कार्यकता भेला हुने तथा भेटघाट हुने क्रम बढेको छ । त्यही भिडलाई देखेर एनआरएनए नेताको घर गए कि भन्ने आरोप लगाइएको हुन सक्छ । व्यक्तिगत सम्बन्धका आधारमा शुभेच्छा दिँदैमा कुनै वाद, जाति वा गुट भयो भन्नु गलत हो । त्यस्तो ठूलो खेल यहाँ भएको पनि छैन र हुन पनि दिनुहुँदैन ।

एनआरएनएको एनसिसीमा राजनीतिक भागबन्डा हुने, राजनीतिक आधारमा चुनाव लड्ने प्रवृत्ति देखिएको छ । त्यसको प्रभाव एनआरएनए आइसिसीमा पनि देखिएको हो कि ?

केही कमजोर साथीहरूले आफ्नो बलका लागि त्यस्तो गरेका हुन सक्छन् । तर, सच्चा एनआरएनएले कुनै खाले राजनीति गर्दैन । हामीले गरेका छैनौँ । अहिलेको चुनावमा पनि कुनै राजनीति, वाद, जात वा गुट–उपगुट छैन ।

तपार्इंलाई एनआरएनए आइसिसी अध्यक्षमा किन भोट हाल्ने ? तपाईंका एजेन्डा के–के हुन् ?

भवन भट्ट सबैको लोकप्रिय छ, सबैसँग मिल्छ र काम पनि गर्छ । मैले संस्थापकदेखि अहिलेसम्म ल्याइएका परियोजना तथा कार्यक्रम अघि बढाउनेछु । त्यसबाहेक चारवटा एजेन्डा रहेका छन् । मैले ‘एनआरएनए भर्जन टु’ भन्ने योजना अघि सारेको छु । दोस्रो अध्यायको अभियानअन्तर्गत महिला र युवा सशक्तीकरण हुनेछ । यसमा उद्यमशीलता र व्यावसायिकताको विकास हुनेछ । यसमा धनी–गरिब सबैको ‘इन्भेस्टमेन्ट भेहिकल’ बन्नेछ । अर्थात् सबैले लगानी गरेर त्यसबाट परियोजना सञ्चालन गरिनेछ । स्मार्ट एनआरएनएको अवधारणा अघि सारेको छु । विदेश पलायन भएका ब्रेनलाई एक ठाउँमा ल्याउन एकेडेमी खोल्ने योजना छ । नयाँ एनआरएनएको अवधारणा हुन्छजस्तो लाग्छ । यो दुई वर्ष भनेको अत्यन्तै महत्वपूर्ण समय हो । यो कार्यकालका लागि घनिभूत छलफल गरेर एजेन्डा बनाइनुपर्छ र त्यस्तै नेतृत्व बनाउनुपर्छ । व्यक्तिगत इगोको पछि लाग्नुहुँदैन । संस्थालाई राम्रो बनाउन सबैलाई आग्रह गर्छु ।@ जनार्दन बराल र कृष्ण रिजाल-नयाँ पत्रिका