टोकियो । नेपालीहरुको लगानीमा नेपाली बालबालिकाहरुलाई लक्षित गरी संचालनमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुल जापानको पांचौं बार्षिक खेलकुद दिवस यहि शनिबार सम्पन्न भएको छ ।
स्कुलमा अध्ययनरत करिब १८० जना बिद्यार्थी र उनीहरुका अभिभावकहरुको उल्लेख्य सहभागिताका साथ सो दिवस सम्पन्न भएको हो । शिक्षा र स्वास्थ्यमा खेलकुदको अपरिहार्यता भन्ने मूल नाराका साथ सम्पन्न सो खेलकुद दिवस टोकियोको आसागाया स्थित प्राथमिक बिद्यालयको कवर्ड हलमा आयोजना गरिएको थियो । स्कुलले बार्षिक रुपमा आयोजना गर्ने महत्वपूर्ण कार्यक्रम मध्ये यो पनि एक हो ।
खेलकुद कार्यक्रम पूर्व-प्राथमिक र प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई छुट्टाछुट्टै तालिका बनाएर सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल र जापानमा खेलिने बिभिन्न खेलकुदहरुलाई समाबेस गरिएको थियो । बिशेष गरी प्राथमिक स्तरका बिद्यार्थीहरुलाई रातो, नीलो, हरियो र पहेंलो गरी चार समुहमा बिभाजन गरी खेलकुदमा प्रतिस्पर्धा गराईएको थियो । जसमा अत्याधिक अंक सहित पहेंलो समुहले प्रथम स्थान हासिल गरेको थियो ।
बिजेता तथा सहभागी बिद्यार्थीहरुलाई स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले बिजेताकप तथा पदकहरु बितरण गर्नुभएको थियो । कार्यक्रममा सुगिनामी सिटी काउन्सिलर फ़ुजिओ वातानाबे, बिद्यालय ब्यवस्थापन समितिका सदस्य बिशेश्वर रेग्मी लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा अभिभावकहरु बिचको डोरी तान्ने खेलको प्रतिस्पर्धाले थप मनोरन्जन दिएको थियो ।
सो खेलकुद दिवसको समापन गर्दै अध्यक्ष डा. श्रेष्ठले कार्यक्रम सफ़लताको लागि सहयोग गर्नुहुने अभिभावक, भोलेन्टियर, शिक्षक-शिक्षिका लगायत सम्पूर्णमा धन्यबाद ब्यक्त गर्नु भएको थियो भने स्कुलका प्रिन्सिपल प्रदिप थापाले आफ़्ना बालबच्चाहरुलाई फ़ुर्सदको समयमा कुनै न कुनै खेलकुदमा सहभागी गराउनुहुन अभिभावकहरुलाई आग्रह गर्नु भएको थियो ।
स्मरण रहोस, एभरेष्ट इन्टरनेशनल स्कुल जापानमा हाल कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको अध्यापन गराईन्छ भने आगामी शैक्षिक सत्रदेखि कक्षा ८ पनि संचालन गरिने स्कुल ब्यवस्थापनले बताएको छ ।
