सोमबार, जेठ २५, २०८३

पोखराको बुद्ध लामाले जीते नेपाल आइडल २०१७ को उपाधी

काठमाडौँ,७ असोज । नेपालमा पहिलो शोका रुपमा रहेको नेपाल आइडलको उपाधि पोखरा नयाँ बजारका बुद्ध लामाले जितेका छन्।

गत वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको नेपाल आइडल यात्रा शुक्रबार राति कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा सम्पन्न भएको थियो । लामाले अरु दुई प्रतियोगी निशान भट्टराई र प्रताप दासलाई पछि पर्दै नेपालको पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् ।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये बुद्धले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरेका थिए। त्यस्तै ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गर्दै निशान भट्टराई फस्ट रनरअप र १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट प्राप्त गर्दै प्रताप दास सेकेन्ड रनरअप भए ।

बुद्धले जितसँगै २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। त्यस्तै निशान र प्रतापले क्रमश १५ लाख रुपैयाँ र १० लाख रुपैयाँ पुरस्कार हात पारे। फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ।

विजेताहरुलाई नेपालका प्रशिद्ध हास्य कलाकार मह जोडी (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले पुरस्कार प्रदान गरेका थिए ।