शुक्रबार, भदौ १९, २०८३

भोटेकोशी बाढी पिडितका लागि एभरेस्ट स्कुल जापानबाट ८ लाख ८८ हजार बढी आर्थिक सहयोग

टोकियो । नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि एभरेस्ट इन्टरनेसनल स्कुल जापान परिवारले ८८८,८४८ (आठ लाख अठासी हजार आठ सय अर्चालिस जापानी येन) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ।

बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि एभरेस्ट इन्टरनेसनल स्कुल जापान परिवारले आठ लाख अठासी हजार आठ सय अर्चालिस जापानी येन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डिपोजिट गरेको स्कूलका प्रिंसिपल विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।

विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी, सञ्चालक, संरक्षक तथा शुभेच्छुकहरूको स्वैच्छिक सहभागिताबाट संकलित उक्त रकम जापान रेमिट फाइनान्स कम्पनी लिमिटेडमार्फत पठाइएको हो, जुन विनिमयपछि नेपाली रुपैयाँ ८ लाख ४८ हजार ८४९ रुपैया बराबर भएको छ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कक्षा १२ सम्म सञ्चालन स्वीकृति प्राप्त एभरेस्ट इन्टरनेसनल स्कुल जापानमा सञ्चालित एकमात्र नेपाली विद्यालय हो। विद्यालय MEXT बाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय विद्यालय तथा क्याम्ब्रिज इन्टरनेसनल एजुकेसनमा आबद्ध शैक्षिक संस्था पनि हो। यसले गुणस्तरीय शिक्षासँगै नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै नेपाल–जापानबीच शैक्षिक तथा सांस्कृतिक सेतुको भूमिका निर्वाह गर्दै आएको छ।

विद्यालयले सहयोगमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट समेत गरेको छ।

यसमा तपाईको प्रतिक्रिया