टोकियो । नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको सहयोगका लागि स्याङ्जा समाज जापानले ४ लाख ५३ हजार ५ सय जापानी येन आर्थिक सहयोग प्रदान गरेको छ।
देशमा उत्पन्न भएको विपद्को पीडादायी अवस्थाले संसारभर रहेका नेपालीहरूलाई भावुक बनाइरहेको बेला जापानस्थित स्याङ्जाली समुदायले पनि बाढीपीडितको राहत तथा सहयोगका लागि आर्थिक सहायता जुटाएको हो।
स्याङ्जा समाज जापानले संकलन गरेको ४,५३,५०० येन स्याङ्जा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को खातामा जम्मा गरिएको समाजका अध्यक्ष वेद कार्कीले जानकारी दिनुभयो।
विभिन्न देशमा रहेका स्याङ्जा समाजहरूले संकलन गरेको सहयोग रकम आईसीसीको खातामा जम्मा गरिने र त्यसपछि आईसीसीमार्फत उक्त रकम सिधै नेपाल सरकारको खातामा पठाइने बताइने समाजका निवर्तमान अध्यक्ष चित्र गुरुंगले बताउनु भयो ।
विपद्को कठिन घडीमा विदेशमा रहेका नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाहरूले मानवीय सहयोगका लागि हातेमालो गर्दै आएका छन्। स्याङ्जा समाज जापानको यो सहयोगले बाढीपीडितहरूको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्नेछ ।

