टोकियो । ‘नेपाली उत्पादनको निर्यातमा प्रवर्द्धन गरौँ, नेपाली उत्पादनलाई विश्वव्यापीकरण गरौँ’ भन्ने उद्देश्यसहित पूर्ण ट्रेडिङ जापानले नेपालमा उत्पादित ‘हाईलाइफ’ ब्रान्डका विभिन्न खाद्य उत्पादन जापानको बजारमा भित्र्याउने भएको छ।
जापानमा नेपाली उत्पादनको बजार विस्तार गर्दै आएको पूर्ण ट्रेडिङले यसपटक हिलाइफका विभिन्न उत्पादनलाई जापानी उपभोक्तामाझ पुर्याउन लागेको हो।
कम्पनीले आज सोमबार अगस्ट १७ तारिख साँझ ६ बजे टोकियोको कामातामा रहेको चौतारो रेष्टुरेन्टमा ‘Hilife Product Launch Event 2026’ आयोजना गरि उत्पादनबारे जानकारी गराउने भएको छ।
कार्यक्रममा हाईलाइफका उत्पादन, तिनको विशेषता, प्रयोग तथा जापानी बजारमा उपलब्धताबारे जानकारी दिइने आयोजकले जनाएको छ। कार्यक्रममा पूर्ण ट्रेडिङ जापानका ग्राहक तथा नेपाली समुदायका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको छ।
उत्पादनहरूमा बासमती चामल, कुरुम कुरुम चिउरा, बेसन, सूजी पिठो, सोया, मह लगायत विभिन्न खाद्य सामग्री समावेश छन्। नेपाली स्वाद र आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका यी उत्पादन जापानमा रहेका नेपाली समुदायका साथै अन्य उपभोक्तामाझ पनि विस्तार गर्ने लक्ष्य पूर्ण ट्रेडिङले लिएको छ।
पूर्ण ट्रेडिङ जापानले यसअघि पनि नेपालमा उत्पादित विभिन्न खाद्य तथा उपभोग्य सामग्री जापानमा आयात तथा बजारीकरण गर्दै आएको छ। नेपाली उत्पादनलाई जापानमा चिनाउने र नेपाली व्यवसाय तथा उत्पादकलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले कम्पनीले विभिन्न उत्पादनको प्रवर्द्धन गर्दै आएको जनाएको छ।
पूर्ण ट्रेडिङ जापानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टीका श्रेष्ठका अनुसार यसपटकको हाईलाइफ उत्पादनको सुरुवात कम्पनीका लागि विशेष पहल हो। नेपाली उत्पादनको गुणस्तर र मौलिकतालाई जापानी बजारमा परिचित गराउँदै क्रमशः बजार विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।
नेपालमा उत्पादित वस्तुलाई जापानमा प्रवर्द्धन गर्दै दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने प्रयासका रूपमा हिलाइफ उत्पादनको जापान प्रवेशलाई हेरिएको छ।

