सोमबार, जेठ २५, २०८३

टोकियोमा सम्पन्न तीज फेशन शो को उपाधि ज्ञानु पुनको पोल्टामा

टोकियो,९ भदौ । हामी दिदी बहिनी ग्रूपको आयोजनामा टोकियोमा सम्पन्न तीज फेसन शो प्रतियोगिताको उपाधि ज्ञानु पुनले जितेकी छिन् ।

काठमाडौंकी स्थायी वासिन्दा पुनले प्रतियोगितामा सहभागी ८ जना नेपाली युवतीहरुलाई उछिन्दै उपाधि जितेकी हुन् ।

टोकियोमा सम्पन्न तीज फेसन शो प्रतियोगिताको उपविजेता निरजा भण्डारी भइन् भने सरु केसीले तेस्रो स्थानमा चित्त बुझाइन् ।
तीजको पहिरनमा उत्कृष्ठ ‘क्याट वाक’ गरेकी पुनले निर्णायकद्वय दिप्ती राजभण्डारी र रमेश श्रीस मगरको प्रश्नको चोटिलो जवाफ दिएकी थिइन् ।

उनले तीजको मौलिकता र यसको महत्वका बारेमा दिएको जवाफले आयोजकको मन जित्यो । यस्तै जापानमा पहिलो पटक आयोजना गरिएको तीज नृत्य प्रतियोगितामा सुनिता सापकोटा प्रथम भएकी छिन् । दोस्रो धनु गुरुङ भइैन भने रीता गुरुङ तेस्रो भइन् ।

यस्तै मोडेल फोटो प्रतियोगिताको प्रथम रेनु केसी भईन भने रजनी महर्जनले उपविजेतामा चित्त बुझाइन् । अनिता अधिकारी तृतीय भइन् । कार्यक्रम म नेपाली ग्रूपकी संयोजक स्मृति आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि आचार्यले तीज नेपाली महिलाहरुको मौलिक पर्व भएपनि पछिल्लो समय तीजको बाहानामा फजुल खर्च गर्ने, अनावश्यक कामका लागि देखासिकी गर्ने प्रवृत्ति बढेको र यहि कारणले पवित्र पर्वमा विस्तारै विकृती भित्रिएको बताइन् ।

हामी दिदी बहिनी ग्रूपकी संचालक सुनिता श्रीस र अनिता क्षेत्रीले तीजको मौलिकता मर्न नदिन विभिन्न खाले कार्यक्रमको आयोजना गरिएको बताइन् ।