काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा तेक्वान्दो खेलको निर्णायकका रूपमा छनोट भएका छन् ।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदमा सिवाकोटीले तेक्वान्दोको निर्णायकको भूमिका निर्वाह गर्नेछन्। उनी ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त व्यक्ति हुन्। उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन् ।
सिवाकोटीले सन् २०२३ जनवरीमा संयुक्त अरब इमिरेट्सको दुबईमा भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए। त्यसपछि सन् २०२४ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स उत्तीर्ण गर्दै उनले दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त गरेका थिए ।
उनले यसअघि अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, मंगोलिया र भारतमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।

