बिहिबार, साउन २८, २०८३

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति सरकारको ध्यानाकर्षण, तत्काल रिहा गर्न आग्रह

जापान । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार तथा सम्पादकीय सामग्री प्रकाशनसँग सम्बन्धित विषयमा प्रहरीले पक्राउ गरेको घटनाप्रति कानून व्यवसायी डा. बलराम श्रेष्ठले गम्भीर आपत्ति जनाउँदै रिहा गर्न आग्रह गरेका छन्।

पत्रकार श्रेष्ठ काठमाडौं प्रहरी परिसरको टोलीले निवासबाट पक्राउ गरेको घटनाप्रति कानून व्यवसायी डा. बलराम श्रेष्ठले गम्भीर आपत्ति जनाउँदै तत्काल रिहा गर्न आग्रह गरेका हुन ।
डा. श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारको अधिकार मात्र नभई नागरिकको सूचनाको हकसँग प्रत्यक्ष जोडिएको मौलिक लोकतान्त्रिक मूल्य भएको उल्लेख गरेका छन्।
उनले कुनै प्रकाशित समाचार, सम्पादकीय वा सार्वजनिक अभिव्यक्तिप्रति कानुनी आपत्ति भए त्यसको समाधान संविधान, प्रचलित कानुन र स्थापित न्यायिक प्रक्रियाअनुसार गरिनुपर्ने बताएका छन्।

कानून व्यवसायीका दृष्टिले राज्यसँग व्यक्तिलाई पक्राउ गर्ने अधिकार भए पनि त्यस्तो अधिकारको प्रयोग कानुनी आवश्यकता, औचित्य, समानुपातिकता र न्यायिक प्रक्रियाको सम्मान गर्दै हुनुपर्ने उनको भनाइ छ। पत्रकारितासँग सम्बन्धित विषयमा पक्राउ तथा धरपकडलाई पहिलो विकल्पका रूपमा प्रयोग गर्दा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि अनावश्यक दबाब सिर्जना हुनसक्ने उनले बताएका छन्।

नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सूचनाको हक तथा कानुनी शासनको मूल भावनालाई राज्यका सबै निकायले सम्मान गर्नुपर्नेमा जोड दिँदै डा. श्रेष्ठले पत्रकारले प्रकाशित गरेको सामग्रीमा कानुनी विवाद उत्पन्न भए त्यसको निरूपण धम्की, त्रास वा अनावश्यक धरपकडबाट नभई प्रमाण, कानुन र निष्पक्ष न्यायिक प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।

परकार किशोर श्रेष्ठको पक्राउले पत्रकारिता क्षेत्रसँगै नेपालको लोकतान्त्रिक अभ्यास, विधिको शासन र नागरिक स्वतन्त्रताका विषयमा समेत गम्भीर प्रश्न उठाएको उनको भनाइ छ। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित निकायले निष्पक्ष र कानुनसम्मत ढंगले अघि बढ्नुपर्ने उनले आग्रह गरेका छन्।
डा. श्रेष्ठले वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको पक्राउ तथा धरपकडप्रति गम्भीर आपत्ति व्यक्त गर्दै कानुनी अधिकार, व्यक्तिगत स्वतन्त्रता तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

यदि श्रेष्ठविरुद्ध कुनै कानुनी आरोप वा उजुरी रहेको भए त्यसको निष्पक्ष अनुसन्धान तथा न्यायिक परीक्षण कानुनबमोजिम हुनुपर्ने उनको भनाइ छ।

“स्वतन्त्र प्रेस लोकतन्त्रको पहरेदार हो। पत्रकारलाई डराएर होइन, कानुनको शासनलाई बलियो बनाएर मात्र लोकतन्त्र बलियो हुन्छ,” डा. श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यसमा तपाईको प्रतिक्रिया