जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय समन्वय परिषद् सेन्दाईको आयोजनामा हुन लागेको दोस्रो नेपाल फेस्टिभल सेन्दाई २०२६ को औपचारिक घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
एनआरएनए जापानका क्षेत्रीय सह–कोषाध्यक्ष सन्दिप जिसीको प्रमुख आतिथ्यता तथा एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाईका संयोजक आशिष गुरुङको अध्यक्षतामा सोमबार कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एनआरएनए जापानका केन्द्रीय सल्लाहकार साबित्रा लामा, सदस्य प्रकाश विश्वकर्मा, मानार्थ सदस्य हरि पाण्डे तथा क्षेत्रीय समिति सेन्दाईका संरक्षक हरिगोपाल श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा एनआरएनए जापान क्षेत्रीय समन्वय परिषद् सेन्दाईका उप–संयोजक तथा नेपाल फेस्टिभलका कार्यक्रम संयोजक निम तामाङले फेस्टिभलको उद्देश्य, अवधारणा तथा कार्यक्रमको प्रस्तावना प्रस्तुत गरेका थिए। आयोजकका अनुसार नेपालको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा नेपाली खानालाई जापानमा प्रवर्द्धन गर्दै जापानी समुदायमाझ नेपाललाई चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो।
अक्टुबर ३१ र नोभेम्बर १ मा फेस्टिभल दोस्रो नेपाल फेस्टिभल सेन्दाई २०२६ आगामी अक्टोबर ३१ शनिबार र नोभेम्बर १ आइतबार सेन्दाईस्थित चुचीगाओका पार्क (Tsutsujigaoka Park) मा आयोजना हुनेछ। फेस्टिभलमा नेपाली कला, संस्कृति, संगीत, नृत्य, परम्परागत पहिरन तथा नेपाली खानासहितका विविध गतिविधि प्रस्तुत गरिने आयोजकले जनाएको छ।
पोस्टरअनुसार कार्यक्रमको प्रवेश निःशुल्क रहनेछ। आयोजकले फेस्टिभललाई सफल बनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, जापानी शुभेच्छुक, विभिन्न संघसंस्था, व्यवसायी, प्रायोजक तथा सहयोगीहरूलाई सहभागिता र सहकार्यका लागि आग्रह गरेको छ।

