जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका बेला देशको लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियारसम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ ।
जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ । साथै, जापानले दशकौँदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रिन नदिने तीन गैर–आणविक सिद्धान्त पालना गर्दै आएको छ ।
तर चीनलगायत पूर्वी एसियाली मुलुकको बढ्दो सैन्य क्षमता तथा जापानको प्रमुख सुरक्षा साझेदार अमेरिकाको विश्वसनीयतामाथि उठिरहेका प्रश्नका कारण उक्त नीति दबाबमा परेको छ ।
प्रधानमन्त्री सानाए ताकाइचीले तीन गैर–आणविक सिद्धान्तप्रतिको सरकारको भावी अडान स्पष्ट पार्न अस्वीकार गरेकी छन् । रक्षामन्त्री शिन्जिरो कोइजुमीले गत महिना आणविक हतियारसम्बन्धी विषयमा कुनै बन्देजबिना छलफल गर्नुपर्ने बताएका थिए ।
गत डिसेम्बरमा सरकारका एक वरिष्ठ अधिकारीले जापानले आणविक हतियार राख्नुपर्ने सङ्केत गरेपछि त्यसको जापानमा व्यापक आलोचना भएको थियो ।
सन् १९४५ को हिरोसिमा आणविक बम आक्रमणबाट बाँचेका ८२ वर्षीय अभियानकर्मी सातोशी तानाकाले जापानको आणविकविरोधी प्रतिबद्धता परिवर्तन हुन सक्ने आशङ्काले आफू चिन्तित रहेको बताए । उनले सैन्य क्षमतामा मात्र ध्यान दिनुको सट्टा कूटनीतिमार्फत शान्ति निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
जापानले बिहीबार हिरोसिमा आणविक बम आक्रमणको ८१ औँ वार्षिकोत्सव मनाएको थियो भने आइतबार नागासाकी आक्रमणको स्मरण गर्दै कार्यक्रम आयोजना गर्दैछ ।
सन् १९४५ को अगस्तमा अमेरिकाले हिरोसिमा र नागासाकीमा गरेको आणविक बम आक्रमणमा विकिरणको प्रभावसहित दुई लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

