बिहिबार, असार ३२, २०८३

बिहुँकोट समाजले जापानका तीन सिटीमा निशुल्क तिज विशेष कार्यक्रम गर्ने

टोकियो । हरितालिका तिजको अवसरमा बिहुँकोट समाज जापानले यस वर्ष पनि जापानका तीन प्रमुख सहरमा ‘तिज विशेष कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ।
नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार सम्झना लामिछाने मगर र सीता परियारका साथै जापानमा रहेका स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम ओसाका, ओकायामा र टोकियोमा आयोजना हुनेछ।

कार्यक्रमको तालिका अनुसार सेप्टेम्बर १० मा ओसाकामा, सेप्टेम्बर ११ मा ओकायामामा र सेप्टेम्बर १४ (हरितालिका तिजको दिन) टोकियोमा कार्यक्रम आयोजना हुनेछ। ओकायामाको कार्यक्रम भने बिहुँकोट समाज जापान र ओकायामा नेपाली समाजको संयुक्त आयोजनामा हुने जनाइएको छ।

बिहुँकोट समाज जापानले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफूलाई पायक पर्ने स्थानमा उपस्थित भई कार्यक्रमको भरपुर मनोरञ्जन लिन हार्दिक आग्रह गरेको छ। साथै, सोही मितिमा अन्य संघ–संस्थाले कार्यक्रम नजुधाइदिन पनि अपिल गरेको छ।

समाजका अध्यक्ष टिकाराम कँडेलका अनुसार तीनवटै स्थानका कार्यक्रमहरूमा प्रवेश निःशुल्क रहनेछ।

नेपाली कला, संस्कृति र मौलिक तिज परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया