बुधबार, असार २४, २०८३

जनसम्पर्क समिति जापानमा जमरकट्टेलको नेतृत्व, सातौँ महाधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन

भवानी भट्ट, टोकियो । जापानस्थित नेपाली कांग्रेसको प्रवासी भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति (नेजसस) जापानको बहुप्रतीक्षित सातौँ महाधिवेशन भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

लामो समयपछि सम्पन्न महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै संगठनभित्रको एकतालाई संस्थागत गरेको छ। यससँगै प्रवासमा नेपाली कांग्रेसको संगठनलाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

जापानका विभिन्न क्षेत्रबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य, शुभेच्छुक तथा लोकतान्त्रिक विचारमा आस्था राख्ने नेपालीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न महाधिवेशनले सहमति, सहकार्य र संगठन सुदृढीकरणलाई केन्द्रमा राख्दै नयाँ कार्यसमिति चयन गरेको हो। पछिल्ला वर्षहरूमा देखिएको नेतृत्वको अन्योल र संगठनभित्रको असमझदारीलाई अन्त्य गर्दै सर्वसम्मत नेतृत्व चयन हुनुलाई सहभागीहरूले प्रवासमा नेपाली कांग्रेसको संगठनात्मक पुनर्जागरणका रूपमा व्याख्या गरेका छन्।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद’को मूल आदर्शलाई आत्मसात गर्दै आयोजित महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो। उहाँले प्रवासमा रहेका नेपाली कांग्रेसका शुभेच्छुकहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, संगठन विस्तार र राष्ट्रिय हितका पक्षमा एकताबद्ध भएर सक्रिय रहन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि अजयबाबु शिवाकोटी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उद्घाटन सत्रका वक्ताहरूले नयाँ नेतृत्वले प्रवासमा पार्टीको संगठनलाई थप मजबुत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।

महाधिवेशनबाट राजेन्द्र प्रसाद जमरकट्टेल सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको छ। उपसभापतिमा रामजंग कार्की (कान्तो), रेशमकुमार डंगोल (सिजुओका), डिका कार्की (फुकुओका), पोषकान्त न्यौपाने (किता कान्तो), हरिप्रसाद कँडेल (ओसाका), सुशील पौडेल (नागोया) र युवराज गुरुङ (कान्तो) निर्वाचित हुनुभएको छ। महिला उपसभापतिमा सावित्री लामा (सेन्दाइ) र अनिता गुरुङ लामा (टोकियो) चयन हुनुभएको छ।

महामन्त्रीमा विराट खनाल र अशोक शर्मा (गोपाल) निर्वाचित हुनुभएको छ भने सहमहामन्त्रीमा रामप्रसाद बास्तोला, दीपेश खत्री, कुशल धिताल, घनश्याम कँडेल, विनोद तामाङ, प्रिन्सेस खरेल (महिला), विमानसिंह मोक्तान (समावेशी), सुरेश सापकोटा, चित्रबहादुर गुरुङ, शिवकुमार श्रीस मगर, शम्भु केसी, धीरेन्द्र बम ठकुरी (युवा), दिनेश अधिकारी, शिव पौडेल र रोशन निरौला चयन हुनुभएको छ।

कोषाध्यक्षमा यमकान्त कँडेल तथा सहकोषाध्यक्षमा सन्देश अधिकारी र महेन्द्र सुवेदी (सुमन) निर्वाचित हुनुभएको छ। महिला सहकोषाध्यक्षको पद भने पछि मनोनयन गरिने जनाइएको छ। विभिन्न क्षेत्रीय प्रतिनिधित्वलाई समेट्दै केन्द्रीय सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ।

त्यसैगरी, महाधिवेशनले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू पनि चयन गरेको छ। महासमिति सदस्यमा राजेन्द्र प्रसाद जमरकट्टेल, पिताम्बर (पदमपानी) चापागाईं र रामकृष्ण बम मल्ल चयन हुनुभएको छ। महाधिवेशन प्रतिनिधिमा लालबहादुर केसी (रोशन), नारायणप्रसाद सुवेदी, डा. बलराम श्रेष्ठ, दण्डपाणी कँडेल, भूपीगोविन्द श्रेष्ठ, रामजंग कार्की, रेशमकुमार डंगोल, सावित्री लामा, पेम्बा लामा, नवराज थापा र शम्भु केसी चयन हुनुभएको छ।

नवनिर्वाचित सभापति जमरकट्टेलले सबै पक्षलाई समेटेर संगठनलाई थप एकताबद्ध, गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रवासमा नेपाली कांग्रेसको संगठन विस्तार, नयाँ पुस्ताको सहभागिता वृद्धि, लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धन तथा जापानमा रहेका नेपाली समुदायका साझा हितका पक्षमा सशक्त रूपमा काम गर्ने बताउनुभयो।

जापानमा नेपाली समुदायको संख्या निरन्तर बढ्दै गइरहेको सन्दर्भमा प्रवासी नेपालीहरूको हकहित, लोकतान्त्रिक अभ्यास तथा मातृदेशसँगको सम्बन्धलाई सुदृढ बनाउन नेपाली जनसम्पर्क समितिको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ।

यसमा तपाईको प्रतिक्रिया