सोमबार, बैशाख ०७, २०८३

बाढी पीडित सहयोगार्थ तीज महोत्सवको तयारी पुरा

टोकियो,४ भदौ । ‘म नेपाली ग्रुप’ जापानले आयोजना गर्न लागेको  हरितालिका तीजको उपलक्ष्यमा टोकियोमा आयोजना हुने तीज महोत्सवमा सहभागी हुन गायिका सीता केसी जापान आइ पुगेकी छिन् ।

ग्रुप’ले आयोजना गर्न लागेको दुई दिवसीय तीज महोत्सव–२०१७ अगष्ट २० तारिख आइतबारका दिन नाकानो जिरो हल र २२ तारिख मंगलबारका दिन मेगुरो कुमिन सेन्टरमा हुने छ ।

अगस्ट २० तारिखका दिन नाकानो जिरो हलमा हुने कार्यक्रममा सांगीतिक प्रस्तुती मात्रै हुने छ भने २२ तारिख मेगुरो कुमिन सेन्टर मेगुरोमा नेपालबाट आमन्त्रित कलाकारलाई सम्मान  तथा औपचारिक कार्यक्रम गरिने तीज कार्यक्रम संयोजक दिपा कार्कीले जानकारी दिइन् ।

सो तीज महोत्सव–२०१७ मा जापानमै रहेका चर्चित गायक सुर्य खड्काको तीज गीतमा रम्न समेत सकिने आयोजकले जनाएको छ ।

नेपालमा आइ परेको प्राकृतिक विपद् पश्चात् आयोजना हुन लागेको यो कार्यक्रम औपचारिक मात्रै हुने आयोजकले जनाएको छ । बिपद्को यो घडीमा मन खोलेर रमाउन नसकिए पनि वर्षमा एक पटक आउने नारीहरूको चाड रमाईलोसँग मनाउनका लागि आयोजकले जापानबासी नेपालीहरुमा आग्रह गरेको छ ।

शोकमा डुबेको तराई मधेसलाई शक्तिमा बदल्न र कार्यक्रमबाट जुटेको रकम बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यका साथ तीज महोत्सबका लागि आयोजक संस्था ‘म नेपाली ग्रुप’की संयोजक स्मृति आचार्यले जापानवासी नेपालीसंग सहयोगी भूमिका निर्बाह गरिदिन आग्रह समेत गरेकी छिन् ।