टोकियो । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईलाई जापान सरकारले प्रतिष्ठित राजकीय सम्मान ‘अर्डर अफ दि राइजिङ सन’ बाट विभूषित गर्ने भएको छ ।
जापानी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ अन्तर्गत दुई देशबीचको मित्रता र द्विपक्षीय हितमा उल्लेखनीय योगदान पुर्याएबापत भट्टराईलाई यो सम्मान प्रदान गर्न लागिएको हो ।
झन्डै चार दशक लामो कूटनीतिक अनुभव सँगालेका भट्टराईले जापानका लागि नेपाली राजदूतका रूपमा समेत कार्यभार सम्हालिसकेका छन् । उनी सन् २००९ देखि २०११ सम्म परराष्ट्र सचिवको जिम्मेवारीमा थिए । जर्मनीका लागि राजदूतको समेत अनुभव भएका भट्टराईले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र मामिला सल्लाहकारका रूपमा पनि सेवा प्रदान गरेका थिए ।
सन् १९७७ मा सरकारी सेवा प्रवेश गर्नुअघि उनी पत्रकारिता र प्राध्यापनमा संलग्न थिए । अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’मा सहायक सम्पादक भई काम गरेका भट्टराईले कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल-भारत सम्बन्धका विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।
जापानले सन् १८७५ मा तत्कालीन सम्राट मेइजीको पालादेखि सुरु गरेको यो अवार्ड विश्वभरका विभिन्न क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिँदै आइएको छ । कूटनीति, शिक्षा, स्वास्थ्य र संस्कृतिका क्षेत्रमा विशेष प्रभाव पार्ने व्यक्तिहरूलाई अप्रिल २९ (वसन्त ऋतु) र नोभेम्बर ३ (शरद ऋतु) गरी वर्षको दुई पटक यस्तो सम्मान घोषणा गरिन्छ ।
यसैबीच, जापान सरकारले काठमाडौँस्थित जापानी दूतावासकी पूर्वकर्मचारी रमासुन्दरी जोशीलाई पनि सम्मान गर्ने घोषणा गरेको छ । जोशीलाई ‘दि अर्डर अफ दि सेक्रिड ट्रेजर, गोल्ड एन्ड सिल्भर रेज’ अवार्डबाट सम्मानित गरिने भएको हो ।

