टोकियो । एशियन ब्रिज इन्टरनेशनल स्कुलले आफ्नो स्थापना पश्चात् पहिलो वर्ष पूरा गरेको अवसरमा वार्षिक उत्सव तथा यूकेजी दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
किता-कुस्थित हाकुटोपिया बिल्डिङ ओजीमा रहेको एशियन ब्रिजले विद्यालयका अध्यक्ष डा. बलराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहर कान्त पौडेल रहनुभएको थियो।
कार्यक्रमको औपचारिक सत्र उप-प्रधानाध्यापक नारायण कट्टेलको स्वागत मन्तव्यबाट सुरु भएको थियो, जहाँ उहाँले विद्यालयको एक वर्षे उपलब्धि, भावी योजना तथा नेपाल र जापानबीच शैक्षिक सेतुको रूपमा विद्यालयको भूमिकाबारे प्रकाश पार्नुभयो।
गत वर्ष स्थापना भएको यस विद्यालयले छोटो अवधिमै शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै एक वर्षे सफल यात्राको महत्वपूर्ण कोसेढुङ्गा पार गरेको छ। कार्यक्रमको प्रारम्भ जापानका न्याय मन्त्री हिरासी हिरागुचीबाट प्राप्त बधाई सन्देशबाट गरिएको थियो। गत वर्ष विद्यालय उद्घाटन समारोहमा सक्रिय सहभागिता जनाउनुभएका मन्त्री हिरागुचीले यस उपलब्धिप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ४० भन्दा बढी जापानी प्रतिष्ठित तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो, जसले विद्यालय र जापानी समुदायबीचको सुदृढ सम्बन्ध तथा आपसी विश्वासलाई झल्काएको छ। यस किसिमको सहभागिताले विद्यालयको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउनुका साथै नेपाल-जापानबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको देखिन्छ।
सांस्कृतिक कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले नेपाली तथा अन्तर्राष्ट्रिय गीत, नृत्य, फेसन शो प्रस्तुत गरी दर्शकहरूको मन जितेका थिए। साथै, विद्यार्थीहरूको समग्र विकासलाई लक्षित गर्दै खेलकुद गतिविधिहरू, सिर्जनात्मक प्रस्तुतिहरू र प्रतिभा प्रदर्शनसम्बन्धी कार्यक्रमहरू पनि समावेश गरिएका थिए। यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह विशेष आकर्षणका रूपमा सम्पन्न भएको थियो, जहाँ साना विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्राको पहिलो महत्वपूर्ण चरण सफलतापूर्वक पार गरेको उत्सव मनाइएको थियो।
कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासन, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो। साथै, विद्यालयप्रति निरन्तर सहयोग र सक्रिय सहभागिता जनाउने अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो, जसले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।
उक्त अवसरमा जापानका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। टोकियो महानगर सभा सदस्यहरू सुश्री कामाजाकी मिकी र सुश्री काई मारिको, अकाफुजिदाइको जापानीको अध्यक्ष ड्र हिरोमी इसिओका, एनपिओ चेरी ब्लसम एसोसिएसन जापानका अध्यक्ष हिरोबुमी मात्सुजावा, ग्लोबल काराभान कम्पनिको संस्थाकी अध्यक्ष सोमेया नोरिको, सोवा होकेन सेन्टर कम्पनीकी अध्यक्ष ओनो काजुए तथा एत्सुओ हिरासावा श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरूले कार्यक्रममा सहभागिता जनाई प्रशंसापत्र प्राप्त गर्नुका साथै सद्भावना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछाने, एभरेस्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष किरण थापा, पत्रकार महासंघ जापानको अध्यक्ष रबिन्द्र श्रेष्ठ, पर्बत समाजको अध्यक्ष राम बास्तोला तथा अन्य विशिष्ट व्यक्तित्वहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै, यामानाशी प्रिफेक्चरको होकुटो सिटीको मेयर कुनिहिको ओशिबाबाट प्राप्त सन्देश पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।
करिब २५० भन्दा बढी अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको थियो। सम्पूर्ण कार्यक्रम सुव्यवस्थित, आकर्षक तथा भावनात्मक रूपमा सम्पन्न भएको र बालबालिकाहरूको प्रस्तुति अत्यन्त उत्कृष्ट रहेको बताइएको छ।
विद्यालयले नेपाली मौलिकता, भाषा र संस्कृतिसँग विद्यार्थीहरूलाई जोड्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। विशेषगरी विदेशमा रहेका नेपाली बालबालिकाहरूलाई आफ्नो जरासँग जोड्दै उनीहरूमा पहिचान, संस्कार र विश्वस्तरीय क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई प्रभावकारी माध्यमको रूपमा अघि बढाइएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयले आगामी दिनहरूमा पनि यस्तै शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

