शुक्रबार, कार्तिक २२, २०८२

झोला : सभ्यता, संस्कार र चेतनाको प्रतीक

रामचन्द्र भण्डारी ।
मानव सभ्यताको विकासक्रममा “झोला” केवल बोकेको वस्तु होइन, यो एक इतिहास, दर्शन र चेतनाको प्रतीक हो। झोलाको यात्रा पौराणिक समयदेखि नै आरम्भ भएको पाइन्छ।
पौराणिक समयमा ऋषि–मुनीहरूले कमण्डलु बोकेर तपस्यामा निस्कन्थे। साधु–सन्तहरू पनि कमण्डलुका माध्यमबाट आफ्नो जीवन निर्वाह गर्थे। गौतम बुद्धले कचौरा बोकेर मानवमुक्ति र त्यागको सन्देश फैलाए। समयको प्रवाहसँगै झोलाको स्वरूप परिवर्तन हुँदै गयो, तर यसको सांस्कृतिक र मानवीय अर्थ सधैँ जीवित रह्यो।

पौराणिक अर्थ र सामाजिक विकाससँगको सम्बन्ध
“झोला” शब्दको मूल भाव सङ्ग्रह र सुरक्षा हो। गर्भगृहमा भेटी राख्ने, मन्दिरमा पैसा अर्पण गर्ने, र राज्य संकट पर्दा मन्दिरका भेटी–द्रव्यबाट जनहितका कार्य सञ्चालन गर्ने चलनले झोलाको धार्मिक र सामाजिक जिम्मेवारी देखाउँछ।
पशुपालन युगमा, मानिसहरूले गोठमा आवश्यक वस्तु राख्ने चलन राख्थे। कृषि युगमा, भकारी र डिकुटीमा अन्न संचित गर्न थाले — यो झोलाको जीवन सुरक्षात्मक रूपान्तरण थियो। औजार र सीपको युगमा, सिकर्मी, सुजिकार, रथकार र चरमाकारहरूले काम गर्न आवश्यक सामग्री थैलो र सुजेरोमा बोकेर हिँड्थे। मानिस एक स्थानबाट अर्को स्थानमा जाँदा कुम्लो–कुटुरो, डोको, थुन्से, सोली र डालोमा आफ्नो सम्पत्ति बोकेर यात्रा गर्थे।
सामाजिक वर्गीय भिन्नता अनुसार झोलाको स्वरूप पनि फरक थियो — धनी वर्गले कपडाको झोला बोक्थे भने सामान्य जनताले पेरुङगो, पोका र पतेरामा आफ्नो आवश्यक वस्तु राख्थे।

आधुनिक झोला : रूपान्तरण र चिन्तन
वि.सं. २०३६ पछि, झोलाको स्वरूपले आधुनिक रूप पायो। डोरिवाला झोला, सुटकेश र ब्यागहरू विकासका प्रतीक बने। आजको झोला केवल भौतिक सामग्री बोक्ने माध्यम होइन, यो मानव मस्तिष्कको बकस हो — जहाँ सकारात्मक र नकारात्मक सोच, विवेक र अविवेक दुवै बसोबास गर्छन्।

झोलामा बोकेका आदर्शहरू
झोलाले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, नैतिकता, मानवीय सभ्यता, शिक्षा, स्वास्थ्य, धार्मिक सहिष्णुता, राजनीतिक चेतना र विश्वकल्याणको भावना बोकेको छ। “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः” भन्ने वैदिक आदर्श र “बसुधैव कुटुम्बकम्” (सारा विश्व एक परिवार हो) भन्ने दर्शन यही झोलाको आत्मामा सुरक्षित छ।
झोला भनेको लोकतान्त्रिक उत्तरदायित्व, सामाजिक न्याय, सुशासन, जनता प्रतिको जवाफदेहीता र आर्थिक समानताको योजनाहरू बोक्ने माध्यम हो। यसमा मधु नीति (न्याय, समता र सद्भावमा आधारित शासन प्रणाली) को दर्शन पनि समाहित छ।

झोला र वैधिक बाङ्रमयमा

“प्रतिकुलं चिन्तयं बजयत, अनुकूलं चिन्तयेत्।” अर्थात्, नकारात्मक सोच होइन, सकारात्मक चिन्तन गर्नु नै मानवताको सर्वोच्चता हो।
तर आजको समयमा “झोले” भन्ने शब्द कहिलेकाहीँ नकारात्मक व्याख्यामा प्रयोग हुने गरेको पाइन्छ, जसले मानवीय सभ्यता र श्रमप्रति अवमूल्यनको दृष्टि देखाउँछ। वास्तवमा, झोले भन्नु भनेको मानव इतिहास, मौलिक सभ्यता, श्रम र देशभक्तिको पहिचान हो।

अन्त्यमा,

“झोला” केवल वस्तु राख्ने माध्यम होइन, यो मानव सभ्यताको खजाना हो — जसमा धर्म, नीति, शिक्षा, विचार, स्वाधीनता र मानवीय संवेदनाहरू समाहित छन्। झोलाको सम्मान गर्नु भनेको आफ्नो मौलिक इतिहास र श्रमको सम्मान गर्नु हो।
आजको युगमा झोलालाई नकारात्मक दृष्टिले होइन, सकारात्मक चिन्तन र मानविय उत्तरदायित्वको प्रतीकका रूपमा हेर्नु जरुरी छ। किनभने झोलामा देशको सपना, मानवताको भावना र विश्वकल्याणको मार्गदर्शन बोकेको छ।

यसमा तपाईको प्रतिक्रिया