आइतबार, असोज १८, २०८३

टोकियोसहित जापानको ३ शहरमा नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुने

टोकियो । जापानको राजधानी टोकियो सहित नागोया र ओसाका शहरमा नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुने भएको छ। टोकियो डोम हलमा नोभेम्बर १८ तारिख नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुने भएको छ।

टोकियोमा नेपथ्य व्याण्डको लाईभ इन टोकियो आयोजना गरेको भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेका अनुसार कन्सर्टका लागि अक्टोबर २२ तारिख बेलुका ५ बजे टिकट खुल्ला गरिएको छ। ५ हजार येन शुल्क रहेको अर्लीवर्ड टिकट बुधबार विक्री भै सकेपछि यसलाई रोकिएको जानकारी दिँदै टिकटका लागि बालकोनी ३ र ४ खुल्ला गरिएकोमा उक्त टिकट समेत सोल्ड आउट भइसकेको बताए।
लाईभ इन टोकियोका लागि खुल्ला गरिएको टिकट २४ घण्टामा १५ सय बढी विक्री भएर अर्को इतिहास समेत कायम गरेको उनको दाबी छ । अब कन्सर्टको लागि स्टान्डिङ एरिया र बालकोनी २ को मात्र टिकट उपलब्ध रहेको बताइएको छ ।
सोमबार साँझसम्ममा अनलाइन मार्फत टिकट खरिदको भुक्तानी २७ सय नाघेको र अब सीमित मात्रामा मात्र ५ सय टिकट मात्र रहेको आयोजकले जनाएको छ ।
अनलाईन मार्फत टिकट खरिद गरेका सबैलाई अनिवार्य क्युआर कोडको प्रिन्ट मोबाइलमा स्क्रिन सट वा पिडिएफ मध्ये कुनै एउटा लिएर आउन अनुरोध गर्दै डेस्टिनि क्रियशनका इभेन्ट म्यानेजर अशिम बस्नेतले एउटा क्युआर कोड एकपटक मात्र स्क्यान गर्न मिल्ने भएकाले एकैपटक धेरै टिकट खरिद गरेका व्यक्तिलाई पिडिएफमा रहेको फरक फरक क्युआर कोड एक एक जनाले लिएर आउन समेत आग्रह गरेका छन् ।

नेपथ्य व्याण्डले टोकियो सहित नागोया र ओसाका शहरमा पनि लाईभ कन्सर्ट गर्ने बताईएको छ।