डम्बर राज पौडेल, टोकियो ।
मैले देखेको सानो कर्मचारी टोली १ जना जापानी, ३ जना नेपाली कर्मचारी, २ जना चालक र १ जना कार्यालय सहयोगीसहित लिएर लगभग २ लाख ७० हजार नेपालीको जनसंख्या भएको मुलुकमा दिनरात सेवामा खटिनुभएका राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु) मेरो नजरमा एक उत्कृष्ट कूटनीतिज्ञ हुनुहुन्छ। उहाँले सुरुगरेका सुधार प्रशंसनीय छ।
पहिलाका राजदूतहरू पनि हामीले देखेकै हौं । कोही राजसी ठाटमा गम्कने तर कामको सन्दर्भमा सिन्को पनि नभाँच्ने, कोही सानो काम गर्दा पनि मिडियामा हल्ला मच्चाएर ठुलो श्रेय लिन खोज्ने। यी सबै अनुभवले कहिलेकाहीँ लाग्छ हामी नेपालीले “ठिक र बेठिक” छुट्याउने क्षमता हराउँदै गएको त होइन?
सामाजिक सञ्जालमा कतिले उहाँलाई ठग, माफिया, दलाल जस्ता शब्दले सम्बोधन गरेको देखिन्छ। यस्ता गम्भीर आरोप प्रमाणसहित लगाइएका भए त हामीलाई पनि सोच्नुपर्ने हुन्थ्यो, तर जथाभावी बोल्ने र लेख्ने बानी हामी नेपालीमा रोगझैँ फैलिएको जस्तो लाग्छ। केही ‘low IQ’ सोचका मानिसहरूले जस्तोसुकै कुरा मनलाग्दी बोल्ने र लेख्ने प्रवृत्ति बढाउँदै लगेका छन्, जुन साँच्चै दुखद छ।
सत्य के हो भने राजनैतिक नियुक्ति पूर्णरूपमा निर्दोष प्रक्रिया होइन होला। तर यदि डा. सुवेदी कांग्रेसको कोटाबाट नियुक्त भएको भएपनि उहाँले गरेका थुप्रै राम्रा कामहरू प्रसंशनीय छन्। राम्रोलाई राम्रो भन्न सक्नु नै सभ्यताको परिचायक हो।
काम गर्ने मान्छेमा कमजोरीहरू त हुन्छन् नै, तर यदि ती कमजोरी सुधारिएको छ भने त्यो माफयोग्य कुरा हो।
हाम्रो सेवामा दिनरात खटिनु भएकोमा डा. सुवेदीज्यूलाई हार्दिक धन्यवाद। भविश्यमा नियुक्त हुने राजदुत तपाई भन्दा अझै अव्बल होस् भन्ने कामना गर्दछु।
हामी तपाईंलाई सम्झिरहनेछौं , एक इमानदार, कर्मनिष्ठ र जनसेवामा समर्पित राजदूतको रूपमा।

