जापान । ईस्ट जापान रेलवे कम्पनीको यामानोते रेल लाइनले आफ्नो सेवा सञ्चालनको १००औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ । यामानोते रेल लाइनले ‘रेट्रो डिजाइन’ भएका रेलहरू सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार, स्मारक स्वरूप सञ्चालनमा आएका यी दुई रेलहरूमा पुराना १०३ सिरिज र २०५ सिरिज रेलका डिजाइनहरू पुनः प्रयोग गरिएका छन् । यी रेलहरू आगामी नोभेम्बर ३ सम्म सञ्चालनमा रहने छन् ।
१०३ सिरिजको रेल हल्का हरियो रंगमा सन् १९६३ देखि १९८८ सम्म सञ्चालनमा थियो, भने २०५ सिरिज यामानोते लाइनको पहिलो स्टेनलेस स्टिल रेल हो, जसले सन् २००५ सम्म सेवा दिएको थियो।
यामानोते लाइनको सुरुवात सन् १८८५ मा खुलेको हो । सन् १९२५ मा उएनो–टोकियो खण्ड पूरा भएपछि यो रेलमार्ग ३४.५ किलोमिटर लामो वृत्ताकार मार्ग बनेको थियो ।
हाल यामानोते लाइनमा ५० वटा रेलहरू सञ्चालनमा छन्, जसले व्यस्त समयमा हरेक ३ देखि ४ मिनेटको अन्तरालमा सेवा दिन्छन् । दैनिक करिब ९ लाख ७० हजारभन्दा बढी मानिस यो रेलमार्ग प्रयोग गर्छन् ।
यस रेलमार्गमा ३० वटा स्टेशनहरू रहेका छन् ।