बुधबार, साउन ०१, २०८२

जापानका विभिन्न क्षेत्रमा गर्मी बढ्यो, हिटस्ट्रोकको उच्च जोखिम: हिटस्ट्रोकबाट कसरी हुन्छ ?

टोकियो । गतसाताबाट जापानका विभिन्न क्षेत्रमा उच्च गर्मी भइरहेको छ । आज जुलाई ६ तारिख पनि जापानको पश्चिमी र पूर्वी क्षेत्रहरूमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ। यसैले हिटस्ट्रोक अथौत गर्मीबाट हुने बिरामी पनि बढेका छन् । हिटस्ट्रोकबाट बच्न विशेष सावधानी अपनाउन जापान मौसम विभागले आग्रह गरेको छ।

जापान मौसम विभागका अनुसार ६ तारिखमा पनि पश्चिम जापान उच्च वायुमंडलीय दबाव प्रणालीको प्रभावमा आउनेछ, जसका कारण प्रायः क्षेत्रहरूमा आकाश सफा रहनेछ र तापक्रम अझै बढ्नेछ।
नागोया,क्योटो र कोफुमा ३७ डिग्री,हिरोशिमा र ताकामाचुमा ३६ डिग्री,टोकियो,ओकायामा र फुकुओकामा ३५ डिग्री, ओसाका र यामागातामा ३४ डिग्री, तोयामा र माचुएमा ३३ डिग्री र टोक्योमा ३२ डिग्री सम्म कायम रहने अनुमान गरिएको छ ।

हिटस्ट्रोक भनेको के हो ?

यो गर्मी सम्बन्धित एक रोग हो । शरीरले आफ्नो तापक्रमलाई नियन्त्रण गर्न नसक्दा हिट-स्ट्रोक हुने गर्छ । सामान्यतया स्वस्थ मानिसको शरीरको तापक्रम ९७ देखि ९९ डिग्री फारेनहाइट मानिन्छ । त्यो भन्दा माथि भएमा ज्वरो आएको भनिन्छ । त्यस्तै शरीरको तापक्रम एक्कासी केही मिनेटमा १०६ डिग्री फारेनहाइट वा त्योभन्दा माथि बढ्न सक्छ । त्यसैलाई हिट-स्ट्रोक भनिन्छ ।

यो समस्या भएको १० देखि १५ मिनेटमा उपचार गर्न नसके मानिसको मृत्यु समेत हुनसक्छ ।

हिटस्ट्रोक के कारणले हुन्छ ?
हाइपोथालेमस मस्तिष्कको एक क्षेत्र हो, जसले हार्मोन उत्पादन गर्छ । यसले शरीरको तापक्रम, धड्कन गति, भोक र मुडलाई नियन्त्रण गर्छ । यसमा गडबडी भएपछि हुने गर्छ । शरीरको तापक्रम एक्कासी बढ्ने, पसिना ननिस्कने हुन्छ । जसकारण शरीर चिसो हुन सक्दैन र शरीरको तापक्रम बढ्दै गएर हिट-स्ट्रोक हुन्छ ।
हिट-स्ट्रोक सामान्यतया निरन्तर शारीरिक भार पर्ने काम गर्ने जोकोही व्यक्तिलाई पनि हुनसक्छ । किनभने कामको कारण शरीरको तापक्रम बढ्ने गर्छ । त्यस्तै लामो समय घाममा वा तातो ठाउँमा बस्दा, गर्मी सहन नसक्ने व्यक्तिलाई पनि हिट-स्ट्रोक हुनसक्छ । त्यस्तै दीर्घकालीन स्वास्थ्य समस्या (मुटरोग, फोक्सो, मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या), शरीरमा पानीको कमी, मद्यपान तथा अन्य लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई हुनसक्छ । साथै गर्मीयाममा आवश्यकता भन्दा बढी लुगा लगाउँदा पनि हिट-स्ट्रोक हुनसक्छ ।

हिटस्ट्रोकको लक्षण
टाउको दुख्ने, बान्ता हुने, शरीर कमजोरी महसुस हुने, रिंगटा लाग्ने, तिर्खा लाग्ने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न अप्ठ्यारो हुने, चिडचिडा र दु:खी हुने, छाला सुक्खा हुने, मिर्गी लागेजस्तो हुने, मासंपेशी बाउँडिने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् ।

हिटस्ट्रोकको उपचार
कसैलाई हिट-स्ट्रोक भएमा सकेसम्म तुरुन्तै अस्पातल लैजानुपर्छ । अस्पताल पुर्‍याउनुअघि यदि कसैलाई हिट-स्ट्रोक भएमा यी प्राथमिक उपचार गर्न सकिन्छ । बिरामीलाई तातो ठाउँ वा घामबाट टाढा शीतल ठाउँमा लैजाने, बेहोस भएको छैन भने चिसो पानी खुवाउने, बेहोस भएमा खुवाउनुहुँदैन ।

बिरामीले धेरै लुगा लगाएको छ वा कस्सिने लुगा लगाएको छ भने खोलिदिनुपर्छ । यसो गर्दा शरीरलाई चिसो बनाउन मद्दत गर्छ । चिसो पानीमा कपडा भिजाएर हातखुट्टा पुछिदिने गर्नुपर्छ । हिट-स्ट्रोक भएका व्यक्तिलाई अस्पताल लगिहाल्नुपर्छ । बिरामीको स्वास्थ्य अवस्थाअनुसार जाँच गर्नुपर्ने हुन्छ ।

हिट–स्ट्रोकको जोखिम
वृद्ध व्यक्ति वा बच्चालाई हिट-स्ट्रोकको बढी जोखिम हुन्छ किनभने तिनीहरूको शरीरमा गर्मी सन्तुलन गर्ने क्षमता कम हुन्छ । सुरक्षा गार्ड, ट्राफिक प्रहरी, कृषि र अन्य घाममा ज्याला मजदूरीमा काम गर्ने व्यक्तिलाई जोखिम बढी हुन्छ । किनभने यी व्यक्तिहरु अत्याधिक गर्मीमा लामो समयसम्म बाहिर बस्दा वा उभिरहँदा र निरन्तर काम गरिरहँदा हिट स्ट्रोक हुनसक्छ ।
अत्याधिक शारीरिक काम गर्दा जस्तै लामो समय भारी काम गर्दा, लामो समय दौड वा व्यायाम गर्दा पनि शरीर अत्याधिक तातो भएर हिट स्ट्रोकको जोखिम बढ्छ । केही सामान्य स्वास्थ्य समस्याहरू जस्तै उच्च रक्तचाप, हृदयरोग, थाइराइड र मधुमेह समस्या भएमा पनि हिट स्ट्रोक हुनसक्छ ।
अत्याधिक मदिरा वा लागूपदार्थको सेवनले शरीरले तातो बनाउँछ । जसकारण हिट-स्ट्रोकको जोखिम हुन्छ ।

हिटस्ट्रोकबाट बच्ने उपाय
हिट-स्ट्रोकबाट बच्ने सबैभन्दा मुख्य उपाय गर्मीले तातो भएको शरीरलाई चिसो बनाउने कोसिस गर्नु नै हो । गर्मीमा काम गर्नुपर्छ भने समय-समयमा छायामा बस्ने, कोठामा पंखा वा एसी चलाएर शरीरलाई चिसो बनाउनुपर्छ । साथै शरीरलाई चिसो राख्न समय-समयमा पानी पिउने गर्नु सकिन्छ ।

यसमा तपाईको प्रतिक्रिया