सोमबार, जेठ ११, २०८३

म्याग्दी मोना ईतावाशी फेस्टिबल २०२६ मा आय-ब्याय सार्वजनिक, २५ लाख ७१ हजार बचत

टोकियो । दोस्रो म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिबल २०२६ को आम्दानी खर्चको प्रतिवेदन सार्वजनिक भएको छ। जापानको ईतावाशीमा सम्पन्न दुई दिने उक्त फेस्टिबलबाट कुल ९३ लाख ३१ हजार ५५५ येन आय भएको छ भने कुल खर्च ६७ लाख ६० हजार ४८८ येन रहेको छ । यसबाट फेस्टिबलले खुद आम्दानीको रूपमा २५ लाख ७१ हजार ६७ येन कमाएको देखिएको छ।

आइतबार टोकियोमा एक कार्यक्रमका बीच विवरण सार्वजनिक गरिएको हो। सो अवसरमा आयव्यय सार्वजनिक तथा कलाकार रवि कार्कीको विदाई एवं सहयोगी संघसंस्थाहरुलाई सम्मान समेत गरिएको थियो।
मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता, एनआरएनए आईसिसी उपाध्यक्ष ददिवल खड्का, एनविए जापानका अध्यक्ष विजेश थकाली, एनआरएनए आईसीसी डिआरसी दिपक कँडेल,व्यवसायी विनोद शेरचन लगायतका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

फेस्टिबलको आर्थिक प्रतिवेदन मोना कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा तयार पारिएको हो । यस कार्यक्रमलाई नेपाल दूतावास टोकियो, ईतावाशी सिटी कार्यालय, ईतावाशी शिक्षा समिति, ईतावाशी पर्यटन संघ, ताकाशिमादाइरा प्रहरी, दाईतो बुन्का विश्वविद्यालय ईतावाशी क्याम्पस र मोना आईईसी लगायतका संस्थाहरूले सहयोग गरेका थिए । एनआरएनए आईसिसी उपाध्यक्ष ददिवल खड्का मुख्य प्रायोजक र येहे रेमिट कार्यक्रमको साझेदार रहेका थिए।

फेस्टिवलमा ४० वटा जापानी र नेपाली सांस्कृतिक समूह तथा संस्थाहरूले एकल र सामूहिक रूपमा भाग लिएका थिए। करिब २९७ जना कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार, १२२ जना व्यक्तिहरूले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका थिए, जसमध्ये ८५ जनाले हालसम्म सहयोग प्रदान गरिसकेका छन्।
मोना आईईसी, थकाली सेवा समिति, देविस्तान समाज, मोना शिजुओका, बलेवा समाज, कास्की पोखरा समाज, नेपाल मगर समाज जापान, देउराली पञ्चेबाजा, छन्त्याल संघ, पुन क्लब जापान लगायतका संस्थाहरूले आर्थिक तथा स्वयंसेवक सहयोग गरेका थिए।

यस फेस्टिबलले जापानमा नेपाली कला, संस्कृति र समुदायलाई प्रवर्द्धन गर्नका साथै स्थानीय जापानी समुदायसँग सांस्कृतिक आदान प्रदानमा महत्वपूर्ण भूमिका खेलेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया