मङ्गलबार, असार १०, २०८२

राजावादीहरूको चलखेलका पछाडि देशभित्र र बाहिरका शक्तिको हात छः अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा आफूहरुलाई थाहा भएको बताए ।

उनले यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएको बताए । उनले पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण रहेको बताए ।

उनले भने, ‘राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् । तर, यस खालका चलखेल आजमात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।’

उनले गणतन्त्रविरुद्ध गतिविधि गर्ने राजावादीलाई गम्भीर हुन चेतावनी दिए । प्रचण्डले लोकतन्त्रको इतिहास पढ्न सुझाव दिए ।

उनले भने, ‘इतिहास फेरि निर्मम हुन्छ, गणतन्त्रका लागि जनताको रगत बगेको छ। क्रान्तिको इतिहास पढ्नुस् । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन ।’