काठमाडौं । २५७० औं बुद्ध जयन्ती मुल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन आज बुधबार विद्यालय स्तरीय ” चित्रकला प्रतियोगिता” गरिएकाे थियाे ।
उक्त चित्र कला प्रतियोगितामा जगत विद्या मन्दिर विद्यालयका सिर्जल गुरूङ प्रथम,कैलाश बाेधी स्कुलका दावा जाङ्वाे शेर्पा द्वितिय,मदन भण्डारी मेमोरियल स्कुलका राेनित कटुवाल तृतीय र अरूणिमा स्कुलका अभिलाशा सुवेदीले सान्त्वना स्थान हासिल गरेकी छिन् ।
यसैगरी, वुधबार नै भएको अर्काे कार्यक्रम विद्यालय स्तरीय “वक्तृत्वकला प्रतियोगिता” मा पनि विभिन्न विद्यालयका विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।
२५७० औं बुद्ध जयन्तीको पावन अवसरमा मंगलबार भने गुठीको भवनमै विद्यालय स्तरीय”हाजिरी जवाफ प्रतियोगिता” सम्पन्न गरिएको थियाे ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण तिनवटा महत्वपूर्ण पवित्र र अद्धभुत तिथिको संयोग वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।
भगवान बुद्धको उपदेश, शान्ति, करुणा र अहिंसाको सन्देशलाई आत्मसात् गर्दै पूजा, प्रार्थना तथा पुण्य कर्म गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
इसापूर्व ५६३ अर्थात् २५७० वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट बैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।भगवान गौतम वुद्धको उपमा पाउनुभएका सिद्धार्थ गौतमले शान्ति, ज्ञान र उपदेशमा पुर्याएको योगदानको स्मरणमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता सन्देशका भगवान् गौतम बुद्धले दिनुभएको थियो ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि आफ्नो परम्परा, धर्म र संस्कारलाई जीवन्त राख्ने उद्देश्यका साथ बुद्धका शान्तिका उपदेशहरूलाई स्मरण गर्दै, आपसी सद्भाव र भाइचारा बढाउनका लागि विविध कार्यक्रम आयोजना गरिएको आयाेजकले जनाएको छ ।

