शुक्रबार, चैत १६, २०८०

अव विद्युत प्राधिकरणले ट्रान्सफरमर आफैँ उत्पादन गर्ने

काठमाडौँ,५ साउन । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफरमर आफैँ उत्पादन गर्ने भएको छ।

प्राधिकरणले यस अघि स्वदेशी एवं विदेशी उत्पादकबाट ट्रान्सफरमर खरिद गर्दै आएको थियो। अहिले चालु मेन्टिनेन्स वर्कसपहरुलाई कम्पनीको स्वरुपमा ढालेको र अब बिस्तारै उत्पादन थाल्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

अहिले हेटौँडामा प्राधिकरणको सबैभन्दा ठूलो मेन्टिनेन्स वर्कसप रहेको छ। त्यस बाहेक काठमाडौंको लैनचौर, भक्तपुरको खरिपाटी, बिराटनगर, धनगढी लगायतका स्थानमा प्राधिकरणले वर्कसप सञ्चालन गर्दै आएको छ। त्यहाँ प्राधिकरणले निजी कम्पनीबाट खरिद गरेका ट्रान्सफरमर मर्मत लगायतको काम हुँदै आएको थियो।

‘ट्रान्सफरमर मर्मत मात्र होइन हामी उत्पादन नै गर्न सक्छौँ, कार्यकारी निर्देशक घिसिङले भने- प्लान्ट सञ्चालन गर्न पुग्ने पुर्वाधार देखि टेष्टिङ ल्याव लगायत सबै उपकरण हामीसँग छन्।’

प्राधिकरणले पछिल्लो समय माग पक्ष सुदृढिकरणका लागि ट्रान्फरमर विस्तारमा तीब्रता दिएको छ। त्यसका लागि हालै मात्र आठ हजार थान ट्रान्सफरमर खरिदको लागि टेन्डर आह्वान गरिएको थियो।

आगामी दिनमा आफ्नो माग आफैँले धान्ने गरि उत्पादनको तयारी गरेको घिसिङले जानकारी दिए। व्यवसायीक र स्वतन्त्र ढंगले सञ्चालन गर्न प्राधिकरणको विभाग अन्तर्गत नराखि छुट्टै कम्पनी दर्ता गरेको उनको भनाइ छ। ट्रान्सफरमर उत्पादनका लागि खोलिएको कम्पनीको नाम ‘ट्रान्सफरमर म्यानुफ्याक्चरिङ एण्ड मेन्टिनेन्स कम्पनी’ राखिएको छ। कम्पनीमा शतप्रतिशत शेयर प्राधिकरणको छ। भविश्यमा सर्वसाधारणलाई शेयर बिक्री गर्ने संभावना पनि हुने घिसिङले बताए।