ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनका लागि कोषाध्यक्ष पदमा किन्चु ल्हामु भुटिया श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको छ । परिषद्को ३१औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि आगामी असार २७ गते काठमाडौंमा हुने निर्वाचनमा श्रेष्ठ राजु मान डंगोल नेतृत्वको समावेशी समूहबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
परिषद्को निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका बेला श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारीमा रहेर परिषद्को आर्थिक व्यवस्थापनलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै घरधनी, पर्यटन व्यवसायी तथा समग्र ठमेल पर्यटनको बृहत्तर हितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवारी सार्वजनिक गर्नुभएकाे हाे ।
सिक्किमेली चेली तथा नेपाली बुहारीका रूपमा परिचित श्रेष्ठ विगत १५ वर्षदेखि ठमेलमा पर्यटन व्यवसायमा सक्रिय हुनुहुन्छ । वहाँको व्यावसायिक यात्रा १९ वर्षअघि अन्तर्राष्ट्रिय Cabin Crew का रूपमा एभिएसन क्षेत्रबाट सुरु भएको थियो। उक्त अनुभवले आफूलाई अनुशासन, सेवा, व्यवस्थापन र अतिथि सत्कारको संस्कार सिकाएको श्रेष्ठको भनाइ छ।
नेपाल फर्किएपछि वहाँ पारिवारिक व्यवसाय Nepal Pashmina Industry मा आबद्ध हुनुभयाे। त्यसपछि श्रीमान् अनुप श्रेष्ठसँग मिलेर Red Cashmere स्थापना गरी सफलतापूर्वक सञ्चालन गर्दै आउनुभएकाे छ । साथै, सिक्किमको मौलिक स्वाद नेपालमा परिचित गराउने उद्देश्यले ठमेलमा KK Taste of Sikkim सञ्चालन गर्दै आउनुभएकाे छ।
व्यवसायी तथा समाजसेवी स्वर्गीय ससुरा बुबा पुष्पमान श्रेष्ठबाट प्राप्त प्रेरणाकै कारण हाल आफू Women in Pashmina, Natural Fiber तथा ठमेल पर्यटन विकास परिषद्को त्रिदेवी मार्ग उप-समितिमा सक्रिय रहँदै विभिन्न सामाजिक गतिविधिमा योगदान दिन सफल भएको वहाँ बताउनुहुन्छ ।
“ठमेल नेपालको मुटु भनेर चिनिन्छ, र यो मेरो दोस्रो घर पनि हो। त्यसैले सुन्दर, सुरक्षित, व्यवस्थित र समृद्ध ठमेल निर्माण गर्नु नै मेरो उम्मेदवारीको मुख्य उद्देश्य हो।”-श्रेष्ठले बताउनुभयाे ।
काेषाध्यक्षमा निर्वाचित भए परिषद्को आर्थिक प्रशासनलाई पारदर्शी,उत्तरदायी र प्रभावकारी बनाउँदै घरधनी, पर्यटन व्यवसायी तथा समग्र ठमेल क्षेत्रका पर्यटनकाे बृहत्तर हितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता श्रेष्ठले व्यक्त गर्नुभएकाे छ ।
आगामी निर्वाचनमा राजु मान डंगोल नेतृत्वको समावेशी समूहलाई विजयी गराई आफूलाई कोषाध्यक्ष पदमा मतदान गरी साथ, सहयोग र समर्थन गर्न वहाँले सम्पूर्ण मतदातासमक्ष आग्रह समेत गर्नुभएको छ । श्रेष्ठ आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा ठमेलको दीर्घकालीन विकास र पर्यटन क्षेत्रको साझा हितसँग जोडिएको अभियानका रूपमा व्याख्या गर्नुहुन्छ ।
पर्यटन, उद्यम, सामाजिक सेवा र संस्थागत अनुभवको संयोजन लिएर निर्वाचन मैदानमा उत्रनुभएकी किन्चु ल्हामु भुटिया श्रेष्ठको उम्मेदवारीले ठमेल पर्यटन विकास परिषद्को आगामी नेतृत्व चयनमा नयाँ बहस सिर्जना गरेको छ।

