बिहिबार, मङि्सर २०, २०८१

जापानको टोकियोमा हुने १४ औं नेपाल फेस्टिबल २०२४ काे तयारी तीव्र

जापान । जापानको टोकियोमा हुने १४ औं नेपाल फेस्टिबल २०२४ मार्फत् नेपालमा पर्यटन प्रवर्द्धन भन्ने मूल मान्यताका साथ आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन टोकियोको नाकानो

सिकिनोमोरी पार्कमा फेस्टिबल हुन लागेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदूतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा फेस्टिबल हुन लागेको हो।

नेपाल फेस्टिवल आयोजक समितिले फेस्टिवलको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आइतबार अनलाइनमार्फत गरेको पत्रकारमा सो जानकारी गराइएको हो । आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा हुने १४ नेपाल फेस्टिवल- २०२४ का लागि आवश्यक तयारीको करिब ७० प्रतिशत काम सम्पन्न भएको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।
नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटकीय प्रवर्द्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस नामक बहु सांस्कृतिक केन्द्र निर्माणार्थ सहयोग जुटाउने उदेश्यले नेपाल फेस्टिवल आयोजना गरिएको हो ।

‘नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउने यो फेस्टिवल एक माध्यमको रुपमा हुनेछ भन्ने विश्वास हामीले लिएका छौं।’ अध्यक्ष निउरेले भने- यस वर्षको नेपाल फेस्टिवललाई मिनि नेपालका रुपमा पाउने गरि गरिने छ।

विगतका नेपाल फेस्टिवल भन्दा केही फरक र नयाँपन दिने गरि १४ नेपाल फेस्टिवल- २०२४ को तयारीमा जुटेको १४ नेपाल फेस्टिवल- २०२४ का उप संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछानेले बताए । उप संयोजक लामिछानेले भने- यो फेस्टिवलमा साँच्चिकै नेपालको हरेक मौलिक संस्कृतिलाई विश्व समक्ष पुर्याएर नेपालमा पर्यटन प्रवर्द्धन गरिने छ।

नेपालका विभिन्न जातजाति भाषाभाषी र क्षेत्रका मौलिक पहिचानलाई अहिलेको नेपाल फेस्टिवलमा अझ व्यवस्थित र विविधता दिने गरी प्रस्तुत गर्न आफूहरु लागेको १४ नेपाल फेस्टिवल- २०२४ का उप संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवालचन्द्र लामाको भनाइ छ ।
जापानमा कार्यरत रहेका एकल जातीयहरुको पहिचानलाई झाँकीको रुपमा प्रस्तुत गरी त्यसका माध्यमबाट नेपालमा पर्यटन प्रवर्द्धन गर्न र आफ्नो संस्कार संस्कृतिलाई निरन्तरता दिई दोस्रो पुस्तामा हस्तान्तरण गर्न नेपाल फेस्टिवल फलदायी हुने विश्वास १४ नेपाल फेस्टिवल- २०२४ का उप संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष लामाको छ ।

यस वर्षको नेपाल फेस्टिवल आदिवासी जनजाति महासंघसंगको संयुक्त आयोजनामा गरिनुले समाजमा सकारात्मक संदेश प्रवाह गरेको बताउँदै एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले यसको निरन्तरताका लागि सुझबुझका साथ हरेक कार्य गरिनु पर्ने यसले गर्दा नेपाल फेस्टिवलले राखेको उद्देश्य परिपूर्तिका ठोस योगदान दिने विश्वास व्यक्त गरे।

नेपाल फेस्टिवलमा रहने स्टलमध्य होटल तथा रेष्टुरेन्टका लागि ११ वटा र सेवा क्षेत्रका २३ वटा बिक्री भैसकेको जानकारी पत्रकार सम्मेलनमा स्टल व्यवस्थापन उप समितिका संयोजक सचिन श्रेष्ठले जानकारी दिए। उनका अनुसार यस वर्षको फेस्टिवलमा कार्यक्रम स्थल विगतको भन्दा फराकिलो भएकोले स्टलको लागि पनि थप सहज हुने बताए ।

नेपालका कला संस्कृति सामाजिक रीतिरिवाज र परम्परालाई व्यवस्थित रुपमा झाँकी प्रदर्शन गरेर देखाइने गरि कार्य गरिरहेको झाँकी व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम उप समितिका संयोजक उप संयोजक थानु राना मगरले बताए । उनका अनुसार नेपालका सात ओटा प्रदेशका केही न केही सांस्कृतिक मौलिक र परम्परागत झाँकी प्रस्तुत गर्ने गरि आफूहरु लागिरहेको र सोहि अनुसार तयारी पनि भएको उनको भनाइ छ ।

नेपाल हाउस बनाउन लागि समेत यो नेपाल फेस्टिवल भएकोले सोही अनुसार आर्थिक सहयोग संकलन अभियानलाई व्यापकता दिइएको आर्थिक संयोजन उप समितिका संयोजक कृष्ण शर्मा गैरेले बताए । सहयोगदातालाई गरिने सम्मानका विभिन्न आधारहरू तय गरी आर्थिक सहयोगका लागि जापानबासी नेपालीसहित विश्वभर रहेका नेपालीहरु र विदेशी सहयोगी मनहरुलाई आग्रह गरेका छौं। संयोजक शर्मा गैरेले भने भविष्यमा समेत आफूले गरेको सहयोगको दस्तावेजिकरण हुने नेपाल हाउसका लागि सक्दो आर्थिक सहयोग गर्नका लागि अनुरोध गर्दछु।

फेस्टिवल सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन लागि विभिन्न योजना र रणनीतिक ढंगले कार्य गरिरहेको सुरक्षा तथा स्वयम् सेवक परिचालन उप समितिका संयोजक सागर कार्कीले बताए । उनका अनुसार जापानमा क्रियाशील विभिन्न संघ संस्थासँगको समन्वयमा स्वयम् सेवकहरु तयार गरिरहेको र इच्छुकहरुका लागि गुगल फारम सार्वजनिक गरि सोहीमार्फत पनि आवेदन संकलन गरेर कार्य गरिएको छ ।
फेस्टिवल प्रचार प्रसारलाई व्यवस्थित रुपमा गरिँदै आएको र फेस्टिवल सम्पन्न हुने समयसम्म पनि विगतका सिकाइलाई ध्यानमा राखेर नेपालीका साथै जापानी नागरिकमा पुग्ने गरी लागिरहेको प्रचार प्रसार उप समितिका संयोजक देवराज उप्रेतीले बताए ।

जापानमा हुने यस फेस्टिवल जापानी नागरिकहरु समक्ष पुर्याउन प्रचार प्रसारलाई व्यवस्थित रुपमा लागेको जापानी सरकारी निकायहरूसँग आवश्यक समन्वय गरिरहेकोले नेपाललाई जापानमा परिचित गराइ पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास जापानी सरकारी निकाय समन्वय उप समितिका संयोजक कमल बास्तोलाको छ ।

पत्रकार सम्मेलनमा आर्थिक पारदर्शीतालाई विशेष ध्यान दिनुपर्ने, आर्थिक मितव्ययितामा जोड दिनु पर्ने, औपचारिकलाई छोटो र व्यवस्थित गराइनुपर्ने, कार्यक्रम सञ्चालन कार्यक्रम तालिकाको आधारमा मात्र गरिनु पर्ने, सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखिने पर्ने, झाँकी प्रदर्शनलाई पूर्णत व्यवस्थित गरिनुपर्ने, नेपाल हाउसको परियोजनाका बारेमा विस्तृत विवरण प्रस्तुत गरिनु पर्ने लगायतका सुझाव प्रदान गरिएको थियो । यसरी सुझाव प्रदान गर्ने हरुमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरी, संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, नेपाल आदिवासी जनजाति महासंघ जापानकी महासचिव प्रमिला राई, पत्रकार प्रकाश ढुंगाना, विष्णु सापकोटा, गणेश खनिया, नारायण रिमाल रहेका थिए ।

पत्रकार सम्मेलन एनआरएनए जापानका अध्यक्ष तथा १४ नेपाल फेस्टिवल २०२४ मूल आयोजक समितिका संयोजक नविन निउरेको अध्यक्षता एनआरएनए जापानका महासचिव तथा १४ नेपाल फेस्टिवल २०२४ मूल आयोजक समितिका सदस्य सचिव टिकाराम खरेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा एनआरएनए जापान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नेपाल आदिवासी जनजाति महासंघ जापानका पदाधिकारी तथा सदस्यहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।