बिहिबार, असोज २२, २०८३

मतपत्र छपाइमा ढिलाइ हुँदा कांग्रेसको निर्वाचन प्रभावित, अब शुक्रबार बिहान ७ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचन शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ। मतपत्र छपाइमा ढिलाइ भएपछि आज निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको सूचनाअनुसार शुक्रबार बिहान ७ बजे ज्येष्ठ मतदाताबाट मतदान सुरु हुनेछ। मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।

निर्वाचन समितिले सबै मतपत्र छपाइ भइसकेको र मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मतदान केन्द्र, जनशक्ति, स्वयंसेवक तथा आवश्यक सुरक्षा व्यवस्थासमेत तयारी अवस्थामा रहेको समितिको भनाइ छ।
रातिको समयमा मतदान गराउँदा उपयुक्त नहुने सुझाव तथा सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै मतदान बिहान सारिएको निर्वाचन समितिले जनाएको छ।

मतदान आज तोकिएकै मतदान केन्द्रमा हुनेछ। सम्बन्धित प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका निर्वाचनसमेत सोही कार्यक्रमअनुसार हुने समितिले स्पष्ट पारेको छ।

यसमा तपाईको प्रतिक्रिया