कसैका लागि बाल्यकाल भनेको आमाबुबाको न्यानो काख, परिवारको माया र विद्यालयका रमाइला दिनहरू हुन्। तर सबै बालबालिकाले यस्तो अवसर पाउँदैनन्। पारिवारिक विपद्, प्राकृतिक प्रकोप र विभिन्न असहज परिस्थितिका कारण संरक्षणको आवश्यकता परेका बालबालिकाका लागि मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल आश्रयको आधार बन्दै आएको छ।
गोदावरी नगरपालिका–१४ मा सञ्चालित यस संस्थामा अहिले ७० जना बालबालिका आश्रित छन्। उनीहरूको पालनपोषण, शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्यसँग जोडिएको यही जिम्मेवारीबीच संस्थाले वर्षभरि गरेका काम, आम्दानी, खर्च र बाल संरक्षणको अवस्थाबारे समीक्षा गर्दै वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ।
कार्यक्रम केवल आय–व्ययको हिसाब सार्वजनिक गर्ने अवसरमा सीमित रहेन। बालबालिकाको भविष्य कसरी सुरक्षित बनाउने, संस्थाको व्यवस्थापनलाई कसरी पारदर्शी बनाउने र आश्रित बालबालिकालाई भोलि आत्मनिर्भर जीवन जिउन सक्ने बनाउने भन्ने विषयमा पनि सरोकारवालाहरूले चासो व्यक्त गरे।
७० बालबालिका आश्रममा, २१ जनाको परिवारसँग पुनर्मिलन
संस्थाको प्रतिवेदनअनुसार हाल आश्रममा ३५ जना बालक र ३५ जना बालिका गरी ७० जना बालबालिका रहेका छन्। संस्थामा हालसम्म ९१ जना बालबालिका दर्ता भएको विवरण प्रस्तुत गरिएको छ।
आश्रममा रहेका बालबालिकाले शिक्षा प्राप्त गर्ने अवसर पाएका छन्। उनीहरू गोदावरी क्षेत्रका विशंखुनारायण माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय र किट्टिनी माध्यमिक विद्यालयलगायतका शैक्षिक संस्थामा अध्ययनरत छन्।
बालबालिकालाई आश्रय दिनु मात्रै पर्याप्त हुँदैन। उनीहरूलाई सम्भव भएसम्म आफ्नै परिवारमा फर्कने वातावरण तयार गर्नु पनि बाल संरक्षणको महत्वपूर्ण पक्ष हो। यही उद्देश्यअनुरूप संस्थाले विभिन्न आर्थिक वर्षमा गरी २१ जना बालबालिकाको पारिवारिक पुनर्मिलन गराएको विवरण सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा सात जना, २०८१/८२ मा चार जना र २०८२/८३ मा १० जना बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको हो।बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परिवार वा आफन्तसँग पुनःस्थापना गर्ने सम्भावना खोज्नु र आवश्यकताअनुसार संरक्षणको व्यवस्था गर्नु महत्वपूर्ण रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए।
९१ लाखभन्दा बढी खर्च, आम्दानी र पारदर्शितामाथि समीक्षा
बालबालिकाको दैनिक जीवन, शिक्षा, स्वास्थ्य र पालनपोषणसँग जोडिएको संस्थाको आर्थिक अवस्थाबारे पनि कार्यक्रममा विस्तृत विवरण प्रस्तुत गरियो।प्रतिवेदनअनुसार संस्थाको कुल आम्दानी ९१ लाख ९७ हजार ७५१ रुपैयाँ रहेको छ भने कुल खर्च ९१ लाख ५५ हजार ४१० रुपैयाँ रहेको छ। यसअनुसार प्रस्तुत विवरणमा आम्दानीभन्दा खर्च ४२ हजार ३४१ रुपैयाँ कम देखिएको छ।
संस्थाको आम्दानी नगद दान तथा रसिद, दानपेटिका, जिन्सी सहयोग, जन्मदिन तथा विशेष अवसरमा प्राप्त सहयोग, बैंक तथा क्यूआर कोडमार्फत प्राप्त रकम र मानवसेवा फाउन्डेसन तथा कोटीहोमसँगको सहकार्यबाट प्राप्त सहयोगलगायतका स्रोतबाट जुटेको जनाइएको छ।संस्थाले नेपाल सरकारबाट प्रत्यक्ष अनुदान वा वैदेशिक सहायता नलिई स्वदेशी भक्तजन, शुभचिन्तक, दाता तथा धार्मिक महायज्ञबाट प्राप्त सहयोगका आधारमा सञ्चालन हुँदै आएको जनाएको छ।
यद्यपि, सामाजिक संस्थाप्रतिको विश्वास कायम राख्न आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुका साथै त्यसको निष्पक्ष समीक्षा तथा अभिलेख व्यवस्थापनलाई पनि उत्तिकै महत्व दिनुपर्ने कार्यक्रममा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले संस्थाले गर्दै आएको कामको समीक्षा गर्दै व्यवस्थापन सुधारदेखि बालबालिकाको दीर्घकालीन भविष्यसम्मका विषय उठाए। नेपाल पत्रकार महासंघ ललितपुरका सचिव दीपक अर्यालले स्वागत–सत्कारलगायतका खर्चमा मितव्ययिता अपनाएर उपलब्ध स्रोत बालबालिकाको भविष्य निर्माणमा केन्द्रित गर्नुपर्ने सुझाव दिए।
गोदावरी नगरपालिकाकी वरिष्ठ महिला विकास अधिकृत सीता गुरुङले नगरपालिकाले निर्धारण गरेका ५१ वटा बालमैत्री सूचकको पालना गर्न सुझाव दिइन्। संस्थाको आर्थिक तथा सामाजिक गतिविधिको निष्पक्ष समीक्षा गर्न आगामी दिनमा स्वतन्त्र सामाजिक लेखा परीक्षक नियुक्त गरी प्रतिवेदन तयार पार्नुपर्ने आवश्यकतासमेत उनले औँल्याइन्।
यसैगरी, बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीले आश्रमका बालबालिकाको अनुशासन, शैक्षिक उपलब्धि र नैतिक संस्कारको प्रशंसा गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि व्यवहारिक ज्ञान र जीवनोपयोगी सीपमा समेत ध्यान दिनुपर्ने बताए।
गोदावरी सरोकारका अध्यक्ष बेबीराज भण्डारीले गोदावरी नगरपालिका–३, तानचिनटारमा संस्थाले खरिद गरेको ६४ आना जग्गामा निर्माण गर्ने प्रस्तावित भवन अपाङ्गतामैत्री बनाउनुपर्ने सुझाव दिइन्। उक्त जग्गामध्ये ३० आना जग्गा पास भइसकेको विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो। नयाँ भवन निर्माणको योजना अघि बढ्दै गर्दा बालबालिकाको सुरक्षित बसोबास, सहज आवागमन र आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने संरचनामा ध्यान दिनुपर्ने विषय पनि महत्वपूर्ण बनेको छ।
संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आगामी दिनमा आफ्नै भवन निर्माण गर्ने, बालबालिकालाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने र मामाघर आश्रमलाई नेपालकै नमुना बालगृहका रूपमा विकास गर्ने लक्ष्य सुनाए।कार्यक्रममा संस्थाको दर्ता, सञ्चालन र नियामक निकायसँगको आबद्धतासम्बन्धी विवरणसमेत प्रस्तुत गरिएको थियो।
प्रतिवेदनअनुसार संस्था २०८० वैशाख ७ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको थियो। त्यसपछि गोदावरी नगरपालिकामा सूचीकृत, समाज कल्याण परिषद्सँग आबद्ध र राष्ट्रिय बाल अधिकार परिषद्बाट बालबालिका राख्ने अनुमति प्राप्त गरेको विवरण सार्वजनिक गरिएको थियो।
संस्थाको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रमको अध्यक्षता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सुरक्षाकर्मी, पत्रकार, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी थिए। कार्यक्रमको उद्घोषण सुजन प्रेमी सुवेदीले गरेका थिए।
मामाघर आश्रमको सामाजिक लेखा परीक्षणले एउटा महत्वपूर्ण प्रश्नसमेत अघि सारेको छ—बालबालिकालाई आश्रय दिनु मात्र पर्याप्त छ कि उनीहरूलाई भविष्यमा आत्मनिर्भर बन्न सक्ने आधार पनि तयार गर्नुपर्छ? आश्रय, शिक्षा र स्वास्थ्य सेवासँगै सीप, व्यवहारिक ज्ञान, पारिवारिक पुनर्मिलनको सम्भावना र सुरक्षित वातावरणमा हुर्कन पाउने अधिकार सुनिश्चित गर्नु बाल संरक्षणका महत्वपूर्ण पक्ष हुन्।
७० बालबालिकाको वर्तमान र उनीहरूको भोलिको जीवनसँग जोडिएको मामाघर आश्रमका लागि आर्थिक पारदर्शिता, प्रभावकारी व्यवस्थापन र दीर्घकालीन योजना उत्तिकै आवश्यक छन्। स्थानीय सरकार, नियमनकारी निकाय, दाता, सञ्चारमाध्यम र समुदायको निरन्तर सहकार्यले यी लक्ष्य हासिल गर्न सहयोग पुर्याउन सक्छ।

