शनिबार, पुष ०६, २०८१

अविरल घिमिरेले फ्रान्सका खेलाडीसँग किक बक्सिङमा भिड्ने

जापान । नेपाली किक बक्सर अविरल घिमिरेले फ्रान्सका खेलाडीसँग किक बक्सिङमा भिड्ने भएका छन् ।

जापानी समुदाय माझ, नेपालीहरूको शिर उच्च राख्दै नेपालको गरिमालाई खेलकुदको माध्यमबाट पनि उच्च पार्न अतुलनीय योगदान दिइरहेका अविरल घिमिरे (हिमालयन चितुवा) अक्टोबर २६ तारिख नागोयामा किक बक्सिङ प्रतियोगिताको फ्रान्सका खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।

खेल जापानको नागोया शहरस्थित कंग्रेस इन्टरनेशनल ईभेन्ट हलमा दिनको ३ बजे बाट सुरु हुने बताइएको छ ।पछिल्लो समय जापानको नागोया शहरमा भएको हिट ५३ किक बक्सिङ प्रतियोगितामा अविरल विजयी भएका थिए । जापानको नागोया शहरमा परिवार सँगै बस्दै आएका अविरलले थुप्रै अन्तर्राष्ट्रिय किक बक्सिङ विजयी हुँदै नेपाल र नेपालीकै पहिचान बनाई रहेका छन्। उनले थाइल्याण्डको फुकेट शहरमा गत मार्च ३० सम्म विशेष प्रशिक्षण लिएका थिए ।

अविरलका किक बक्सिङ प्रशिक्षक समेत रहेका अविरलका बुवा देव घिमिरेले खेलको माध्यमद्वारा नेपाल र नेपाली चिनाउन यस खालका प्रतियोगिताहरूमा हौसला प्रदान गर्न आउन नेपाली समुदायले अनुरोध गरेका छन ।
आफ्नो कडा मिहनत अनि सबैको आर्सीवादले आफू यहाँसम्म आई पुगेको अविरलले बताए । अविरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन् ।

अविरलले नियमित रूपमा भने सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् । जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर अविरलले बक्सिङ हिट प्रतियोगिताका १४ खेल जितिसकेका छन् ।