टोकियो । नेपाली राजदूतावास टोकियोले बर्षभरिमा १२ दिन मात्र सार्वजनिक बिदामा दूतावास बन्द रहने सूचना सार्वजनिक गरेको छ ।
३५ दिन नेपालमा सार्वजनिक बिदा हुने गरेको भएपनि दूतावासले केवल १२ दिन मात्र सार्वजनिक बिदामा दूतावास बन्द रहने सूचनामा उल्लेख गरेको छ ।
जस अनुसार नेपाली मितिलाई अँग्रेजी मितिमा हेर्दा अप्रिल २९ र ३० तारिख गोल्डेन विकको दुई दिन र मे ३ तारिख जापानको संविधान दिवस गरि ३ दिन गोल्डेन विक बिदाको सूचनामा उल्लेख छ।
जेठ १५, मे २८ मा नेपालको गणतन्त्र दिवस बिदा रहेको छ भने असोज ३, सेप्टेम्बर १९ तारिख नेपालको राष्ट्रिय दिवसको बिदा रहेको छ ।
असोज १७, अक्टोबर ३ मा बडा दशैंको घटस्थापना तथा असोज २४ र २५ गते अक्टोबर १० र ११ तारिख सप्तमी फूलपाती र महानवमीको बिदा रहेको छ ।
यस बाहेक कार्तिक १५, अक्टोबर ३१ मा नेपाली ठुलो चाड तिहारको लक्ष्मी पूजा, पुष १७, जनवरी १ तारिख अँग्रेजी नयाँ बर्ष एवं माघ २९ फेब्रुवरी ११ जापानको राष्ट्रिय स्थापना दिवस बिदा रहेको छ भने फागुन १२ फेब्रुवरी २४ मा जापानका सम्राटको जन्मदिनको समारोहको बिदामा नेपाली राजदूतावास बन्द रहनेछ ।
जापानका लागि राजदूत डा. दूर्गाबहादुर सुवेदीले राजदूतको कार्यभार सम्हालेदेखिनै दूतावासको बार्षिक बिदा कटौति सहित दूतावासले उपलब्ध गराउने सेवाहरुलाई छिटो, छरितो र परिणाममुखी बनाउदै आउनु भएको छ ।
१ लाख ८० हजार भन्दा बढ़ी नेपाली रहेको जापानमा राजदूत सहित ४ जना नेपाल सरकारका कर्मचारीको भरमा दूतावास संचालन भईरहेको छ ।