मङ्गलबार, जेठ १२, २०८३

किरात याक्थुङ चुम्लुङ जापानले तङ्नामको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

टोकियो । नयाँ ये़ले़ तङ्बे (वर्ष) ५०८४ तथा याक्थुङ जातिको मौलिक सांस्कृतिक पर्व कःक्फे़क्वा तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ जापानले शुभकामना आदान-प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

आगामी २०२४ जनवरी १४ तारिख आइतबार जापानको राजधानी टोकियोको सिनओकुबोस्थित नेपाली मुरा हल सोलमारीमा किरात याक्थुङ चुम्लुङ, जापानले शुभकामना आदान प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रममा वरिष्ठ गायक अटल तुम्बापो, गायक एजिन राई, प्रजन महर्जन, चिरन लाबुङको विशेष साङ्गीतिक तथा चर्चित कलाकार कामना फगामी मगरको नृत्य प्रस्तुति रहने संस्थाका महासचिव मुक्साम लाओतीले जाकारी दिनुभएको छ। यसका साथै याक्थुङ मौलिक केलाःङ तथा या?लाःङ समेत प्रस्तुत हुनेछन् ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार– २०२३ अर्पण गर्ने कार्यक्रम समेत तय भएको संस्थाका अध्यक्ष सुदीप पालुङ्वाले बताउनुभयो ।

गत वर्षबाट वितरण गर्न थालिएको यो पुरस्कार यस वर्ष पत्रकार अमर तुम्याहाङ र द मार्जिन अनलाइन पत्रिकालाई नगद २० हजार र सम्मान पत्र प्रदान गरिने भएको छ । कार्यक्रममा जापानमा रहेर गीत सङ्गीत तथा कला प्रस्तुतिका माध्यमबाट नेपाल नेपालीको गौरव बढाउन अहम् भूमिका खेल्ने कलाकारहरुलाई जनही १० हजार तथा कदर पत्रबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

तरुल, याङ्बेन, सेल रोटी खाँदै मनाइने याक्थुङ मौलिक पर्व कःक्फे़क्वा तङ्नाम भव्य रुपमा सम्पन्न गर्न जापानवासी सबैलाई उपस्थितिका लागि किरात याक्थुङ चुम्लुङ जापानले हार्दिक अनुरोध गरेको छ ।