टोकियो । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा रचना गरिएको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत डा. सुवेदीले फूल छ कि काँडा गीतको शब्द सिर्जना गर्नुभएको छ भने वरिष्ठ सङ्गीतकार शिखर सन्तोषले सङ्गीत भरेका छन्।
गीतमा सञ्जीवनी र सौरभ दासको सुमधुर आवाज रहेको छ भने उक्त गीतको म्युजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् ।
नेपालको परराष्ट्र कुटनीतिज्ञका रुपमा समेत रहनुभएका डा. सुवेदीका गीत, कविता, गजल लगायत दर्जनौँ साहित्यिक सृजनाहरू यसअघि पनि सार्वजनिक भइसकेका छन् ।
अमेरिकामा प्रथम सचिव र सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २० औँ राजदूतको भूमिका निर्वाह गर्नुभएका राजदूत सुवेदी हाल जापानको लागि नेपाली राजदूतको रुपमा रहनुभएको छ ।
राजदूत डा. सुवेदी प्रवासमा रहेका नेपाली साहित्यकारहरुको संस्था अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय अध्यक्षको समेत भूमिका निर्वाह गरिसक्नु भएको छ ।

