खगराज गौतम ,मलाई लाग्थ्यो विकसित देशहरुको भ्रमण वा कार्यथलो बनाउन पाए कस्तो हुन्थ्यो , कालोजको देश ,सपनाको देशका रुपमा आफुले जापानलाई ल्याएको थिए । हुन त आफ्नै मातृभूमिमा हुदाँ पनि यस प्रकारका देशका नागरिक र अवस्थाका बारेमा सामान्य रुपमा जानकार हुने अवसर पाएको थिएँ । तर बाहिरबाट हेर्न र प्रत्यक्ष अनुभव गर्न पाउनु फरक हुन्छ र हुदो रहेछ ।
ठिक एक वर्षको जापान बसाई मेरा लागि साच्चि कै एउटा विश्वविद्यालयको रुपमा रहेको पाउदा आफूलाई सौभाग्यवान् नै ठानेको छु । आफ््रनै मुलुकमा हुदाँ स्नातकोत्तर तहसम्मको अध्ययनबाट, १० औ वर्षसम्म पत्रकारिता र ८ औ वर्षसम्म गैरसरकारी निकायमा बिताएका अनुभवभन्दा एक वर्ष जापान बसाईबाट निकै गुणा सिकाइ मिलेको छ ।
हाम्रो मुलुकमा रोजगारीका अवसरहरुको सृजना हुन नसक्नु र रेमिटान्सको प्रभावले त्यहाको बसाईलाई उकुसमुकुस बनाउनु, अस्थिर राजनैतिक अवस्था, आफ्नो क्षमता र दक्षता भन्दा पनि नातावाद कृपावादको चरम प्रभाव , चाकडी चाप्लुसी गर्नेहरुका लागि उर्वर वतावरण मौलाइरहेको पछिल्लो अवस्थामा आफुलाई समाहित गराउन नसक्ने कमजोरीका कारण नै पहिलो पटक वैदेशिक रोजगारीमा जापानको यात्रा तय गरेको थिएँ । अझ भ्रष्टाचारले चुर्लम्म डुब्न लागेको अवस्थालाई टुलुटुलु हेरेर बस्नु भन्दा त्यसलाई छाँयामा नै पार्नु मैले मेरा लागि उपयुक्त देखेर अझै भनौ आडर भरोसा दिने भर्याङहरुको अभावलाई परिपूर्तिका लागि नै मेरो जीवनको करिब तीन दशकको पूर्वाद्धमा वैदेशिक रोजगारीका लागि पहिलो यात्रा जापानतर्फ माडियो ।
मनमा थुप्रै खुलदुलीका बिचमा जापान प्रवेश गर्दा नै मेरा लागि यहाँको विकाससँग प्रत्यक्ष साक्षत्कार थियो, त्यो अनुभव नारिता विमानस्थल टोकियोबाट गर्न पाएँ । कस्तो नीति नियम र प्रणालीमा चल्ने देश हो , आहा! अनि कति मृदुभाषी र सहयोगी जापानिज नागरिकहरु भन्ने नै मलाई पहिलो छाप पर्न गयो ।
सुन्ने गर्थे नेपालमा नै रहँदा पनि सुरक्षाका दृष्टिले जापान साच्चि कै उकृष्ट मुलुक हो , त्यो कुराको पुष्टि पनि मलाई थोरै दिनको बसाईमा भयो । कसैलेकसैलाई दुव्र्यवहार गर्नु साच्चिकै दण्डनीय मानिन्छ जापानमा अनि महिलामैत्री कानुन छ जापानमा ।
सडक यातायात मेट्रो, रेल आदि यातायातका साधनमा नीति नियमको पालना उत्कृष्ट नमूना पाइन्छ बालबालिका वृद्धावृद्ध,अशक्त अपाङ्ग, महिलाहस्का लागि छुट्टै सिटको व्यवस्था , चर्को बोल्ने होहल्ला गर्ने ,सडक नियमको उलङ्गघन गर्ने भन्ने कुरा त कथा जस्तै लाग्छ । सडक अपाङ्गमैत्री छ, दृष्टिविहिनमैत्री छ , त्यतिमात्र होइन भाषाको समस्या पर्नेहरुलाई सकेजति सहयोग पुर्याउछन जापानिजहरु ,जापान बसाईका क्रममा लागेको अर्को उत्कृष्ट कार्य भनेको फोहोर व्यवस्थापन हो । यहाको सरकारी कार्यालयहरुले जारी गरेका नीति नियम निर्देशन नागरिकहरुले इमान्दारीपूर्वक पालना गर्दछन । सडक होस् वा पार्क रेल्वे स्टेशन होस् वा जुनसुकै ठाँउ आफूले गरेको फोहोर जहाँ पायो त्यही फाल्नु ठूलो अपराधका रुपमा लिन्छन यहाँबस्ने जो कसैले पनि । निश्चित दिनमा फोहोर जम्माका लागि गाडीहरु आउछन् , कुहिने र नकुहिने,पुन प्रयोगमा आउने र नआउने छुट्टाछुट्टै पोकोमा तयार पारेर तोकिएकै स्थानमा जम्मा पार्दछन , लाग्छ सरसफाइ भनेको सडकदेखि विस्तरासम्म समान रुपले लिन्छन यहाका नागरिकहरु ।
मलाइ लागेको अर्को सुखद् पाटो भनेको जापानिज नागरिकहरु साच्चिकै सहयोगी छन् । कसैलाई परेको समस्या आफ्नो जस्तै गरि लिन्छन र समस्याको समाधानका लागि हरतरहले सहयोग गर्दछन । उनीहरुले आर्थिक सहयोगलाई त्यति महत्व दिदैनन् , आफै गर्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छन । तर अन्य सहयोगका लागि भने अग्रस्थानमा रहेर मदत पुर्याउछन् । जापानिजहरु अरुमाथि निकै विश्वास गर्दछन तर विश्वासघात भएमा पुन सो अवस्थामा फर्कन निकै गाहृो हुन्छ । पहिलो प्रभाव नै अन्तिम प्रभावका रुपमा लिनेगरेको पाइन्छ ।
मलाई गर्व पनि लाग्छ , यहाका नागरिकहरुले आफ्नो भाषाप्रतिको मोह देखेर , उनीहरुले आफ्नो जापानिज भाषालाई निकै महत्व दिन्छन् । जसरी पनि आफ्नै भाषा बोल्नका लागि पे्ररित गर्दछन । अगे्रजी भाषा बुझेपनि आफ्नै भाषा बोल्न जोडदिनु र अग्रेजी भाषाप्रति कम महत्व दिनुका पछाडी कुनै रहस्य नै छ कि भन्ने आशंका लाग्छ । तर उनीहरुले अन्य भाषालाई सम्मान गरे पनि आफ्नो भाषाप्रति निकै गहिरो माया र सम्मान रहेको देखिन्छ ।
प्रविधिमैत्री मुलुकका रुपमा नै परिचित जापानमा भने विदेशीहरुलाई मोवाइल सिम उपलब्ध गराउनु निकै झण्झटिलो छ । यो एक हिसाबले राष्ट्रवादी भएर सोच्ने हो भने राम्रो कदम र नीतिका रुपमा लिएको छु मैले ।
कामप्रति यहाँका नागरिकहरुले निकै सम्मान गर्ने गर्छन । जुनसुकै कामलाई पनि सानो र ठूलोका रुपमा नलिएर उत्पादन र सकारात्मक उपलब्धिसगँ जोडेर हेर्ने गर्दछन । काम गर्ने शिलशिलामा सानो ठूलो पद भन्दा पनि जिम्मेवारी बोध र कर्तव्यनिष्ठता यहाँको अनुकरणिय कार्य हो ।
हामी सबैले जापानिजबाट सिक्नै पर्ने कुरा भनेको समयको सही सदुपयोग र महत्व नै हो । हामी नेपालीहरुले भन्ने गरेको ‘नेपाली समय’ (जसले गर्दा नै हामीहरुलाई पछाडी धकेल्न सहयोग गरेको छ ।)त्यो यहाँ कल्पनासम्म पनि गर्न सकिदैन । जुन समयमा जे काम गर्नुपर्ने हो जसका निम्ति समय विनियोजन गरिएको छ त्यसका लागि उनीहरु पूर्णत प्रतिवद्ध छन् । समयको पालना र नियमको पालना यहाँका नागरिकहरुको सच्चा पहिचान पनि हो ।
पूजिँवादी सिद्धान्तलाई अवलम्वन गरेको यस मुलुकले आफ्नो अर्थतन्त्रलाई राज्यद्धारा नै निर्देशित, केन्द्रित गरेकै कारणले गर्दा यहाका व्यवसायहरु सही ढंगले संचालनमा रहेका छन् । कर प्रणलीलाई चुस्त र व्यवस्थित बनाइएको छ , नीजि तथा साझेदारी व्यवसायलाई प्राथमिकतामा राखिएको छ । राज्यको नीति नियमअनुसार बजारिकरण गर्ने , लाभहानी लाई सोही बमोजिम सुनिश्चत गर्ने , तोकिएका मापदण्डबिना व्यवसाय संचालन गर्न रोक लगाइने , मुल्य निर्धारणलाई स्थानीय सरकारको सहमती र केन्द्रिय सरकारको नीति अनुरुप बनाई मोलमोलाईलाई न्युनिकरण गर्दै निश्चित मुल्य निर्धारण गर्ने , व्यवसाय संचालन र अद्योगिकीकरणलाई राज्यले उच्च प्राथमिकतामा राखी कार्य गरिनु नै समृद्ध राज्य निर्माणका लागि एक कोसे ढुङ्गा हो भन्ने प्रष्ट अनुभव गर्न सकिन्छ ।
जापानको भोगाई आफैमा उत्कृष्ट हुदाहुदै यहाँका केही सुधार गर्नै पर्ने पक्ष पनि रहेको मलाई महशुस भयो । वैदेशिक रोजगारमा आउनेले साच्चै केही रकम बचतको आशा गरेको हुन्छ, । तर जापानको बसाई भोगाई र दैनिक दिनचर्याका लागि गरिनुपर्ने न्युनतम खर्चपनि निकै महङ्गो रहेको छ । यसका अलवा आफु नेपाली हुनुका नाताले नेपाल र नेपालीहरुप्रति अगाध स्नेह, माया, र सम्मान छ । यति हुदाहुदै पनि जापानको बसाईलाई कष्टकर बनाउने खेलमा नेपालीहरु नै अग्रपंक्तिमा रहेको भेटाएँ। विद्यार्थी भिसामा आएकाहरुका लागि काममा लगाइदिने, डिपेण्डेण्टमा आएकाका लागि काममा लगाइदिने बाहानामा नेपालीले नै ठगीको धन्दा गर्ने प्रवृत्ति हावी हुदैगइरहेको छ । साथै कुकिङ भिसामा ल्याउने र आउनेहरु झन् बढी समस्यामा परेको महसुश गरेको छु । यसको न्युनिकरणका लागि नेपालीकै सहयोग गर्ने नाममा गठन भएका च्याउसरी संघ संस्थाले कुनै भूमिका निर्वाह नगरेको पाउदा निकै दुखलाग्छ । यसतर्फ सम्बन्धित सरोकारवालाले समयमा नै ध्यान दिन नसकेमा भयावह स्थितिको सृजना हुने लक्षणहरुका कालो बादल मडारिरहेको छ ।
हुन त आफुले आफ्नो औकात र अवस्थाको राम्रो विश्लेषण नगरी जापानमा रुखमा पैसा टिप्ने जसरी यहाँ आउन लालायित हुनेहरु नै पहिले सजग हुन जरुरी छ , आफुसँग सिप क्षमता र जापानमा रहेर अध्ययन गर्न सक्ने क्षमताको मूल्यांकन नगरी हाम फाल्नु नै पहिलो समस्या हो । अल्पज्ञानले समस्याको सृजना भएपछि नियमनकारी निकायले यसलाई प्राथमिकताका साथ न्युनिकरणका उपायहरु खोज्न जरुरी छ ।
जापानमा वर्षेनी नेपालीहरु आउने क्रम बढिरहेको छ ।
एकातर्फ यसले सकारात्मक सन्देश दिएपनि अर्कोतर्फ समस्याहरु धेरै सृजना हुदै गइरहेकाछन् । पारिवारिक सम्बन्धमा समस्या सृजना हुन थाल्नु , बालबालिकाको उचित हेरचाहमा कमी आउनु, नैतिक शिक्षामा कमी आउनु , बालबालिका आमाबुवाको माया ममताबाट बञ्चित हुदै जादा कुलत संस्कारमा लाग्न थाल्नु, वृद्धवृद्धाको उचित हेरचाहमा समस्या आउनु, रेमिटान्समा निर्भर अर्थतन्त्रको हावी हुदाँ परनिर्भरता बढ्दै जानु, घरजग्गाकाु प्रयोगविहिन हुदाँ कृषि उत्पादनमा हृास आउनु र सुदुर भविष्य निकै नै अन्धकारमयदेखिन थालेकोले सबूले बेलैमा ध्यान दिन जरुरी छ ।