बिहिबार, बैशाख १३, २०८१

कोपा अन्तर्राष्ट्रिय कपमा भाग लिन जापान आएका खेलाडीलाई भब्य स्वागत

टोकियो,१७ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचनको पहलमा यू १२ टोली कोपा पुमा तोरेरस अन्तर्राष्ट्रिय कपमा भाग लिन आइपुगेको छ । प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा १२ खेलाडीलाई टोकियोमा भब्य स्वागत गरेको छ ।

नारिता विमानस्थलवाट टोकियो आएका थिए । वाल खेलाडी टोलीको सहभागिताका लागि लाख्ने खर्च संकलनका लागि वुधवार रोधीमा साझँ च्यारिटी डिनरसमेत भएको थियो ।

शुक्रबारदेखि सुरु हुने तोरेरस कपमा नेपालसहित विभिन्न १२ राष्ट्रको क्लब तथा जापानका २० टोलीको सहभागिता रहने बसन्त गौचनले जानकारी दिए । गौचन दुई बर्षयता तोरेरस एकेडेमीमा आबद्ध छन् । नेपालको युवा फुटबल विकासमा मद्दत पुग्न सक्ने विश्वासका साथ नेपाली खेलाडीलाई जापान ल्याउने प्रयास गरिएको गौचनले बताए ।

उक्त खेलमा नेपाल,जापानसहित १२ राष्ट्रका खेलाडीको सहभागिता छ । हाम्रो नेपाली खेलाडीका लागि यो ठूलो अवसर हो ’ उनले भने, ‘आफु काम गर्ने एकेडेमीले यति ठूलो प्रतियोगिता गर्न लागेकोले मैले नेपाली टोली ल्याउने प्रस्ताव गरे, एकेडेमी त्यसमा राजी भयो । यसले नेपालको फुटबलमा थोरै भएपनि सहयोग पुग्नेछ भन्ने विश्वास छ ।
गौचनका अनुसार तोरेरस कपमा अस्ट्रेलिया, स्पेन, ब्राजिल, जर्मनी, सिंगापुर, चीनलगायतका देशको क्लबको सहभागिता रहेको छ । खेलाडी छनोटका लागि दुई महिनाअघि गौचन स्वदेश आएका थिए । देशभरबाट १२ खेलाडी छनोट गरिएको उनले बताए ।

गौचनका अनुसार टोलीको हवाईटिकट भने आयोजक एकेडेमीले नै बेहोरेको छ । सन् १९९७ देखि झन्डै एकदशक राष्ट्रिय टोलीमा विताएका गौचन आफु आबद्ध एकेडेमीमा नेपाली खेलाडीलाई अवसर दिलाउने प्रयासमा छन् । ‘एक जना मात्र नेपाली खेलाडीलाई यो एकेडेमीमा राख्न सकियो भने त्यसले हाम्रो देशको फुटबल विकासमा मद्दत पुग्ने विश्वास छ’ उनले भने, ‘म त्यसका लागि प्रयासरत छु ।’

तोरेरस कप शुक्रबार सुरु भएर तीन दिन सम्म चल्ने र बिहीबार नेपालीटोली र अन्य ४ टोलीबीच मैत्रीपूर्ण खेल राखिएको गौचनले जानकारी दिए । मुख्य प्रतियोगिता अघिको हुने मैत्रीपूर्ण खेलले खेलाडीलाई अनुभव बटुल्न मद्दत मिल्ने उनले बताए ।

तस्विर : श्री गुरुङ/ टोकियो