काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा गर्ने निर्णय भएको छ । एनआरएनएको गएराति सम्पन्न पहिलो पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्वय रविना थापा, डा बद्री केसीसहित १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरूको उपस्थिति थियो । भर्चुअल बैठकमा ८० जना पदाधिकारीहरुले आआफ्नो भनाइ राखेको एनआरएनएले जनाएको छ ।
बैठकले युके, अमेरिका, जापान र युएई समन्वय राष्ट्रिय समन्वय समितिमा रहेको समस्या समाधान ३० अप्रीलभित्र गर्नको लागि क्षेत्रीय संयोजकहरूलाई आग्रह गरेको छ । यस्तै बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको तर्फबाट सहभागी गराउनको लागि युवा उपाध्यक्षहरूको समन्वयमा सबै पक्षलाई सहभागी गराउनको गर्ने निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिए ।
यस्तै बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न बाँकी राष्ट्रिय समन्वय समिति अमेरिका, जापान, युएई, यूके र यस्तै उम्मेदवारी शुल्क बुझाउन बाँकी पदाधिकारीहरूलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क बुझाउन आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क नतिरेमा विधान अनुरुप टुंगो लगाउने बैठकले निर्णय गरेको छ ।

