एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।
पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन् ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।
प्रधानमन्त्री खानले आफूविरुद्ध अमेरिकाले षडयन्त्र गरेको आरोप लगाएका छन् । पाकिस्तानी सेना भने आफ्नो पक्षमा रहेको खानले बताएका छन् ।

