काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अगाडिका चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले ठूला र बलियाहरूले बलजफ्ती गरे त्यसलाई प्रतिवाद गर्नुपर्ने बताए । उनले आसन्न स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा पनि आफूहरूविरुद्ध घेराबन्दी हुने बताए ।
उनले भने, ‘यस निर्वाचनमा हामी विरुद्धको घेराबन्दी सकिएको छैन । घेराबन्दी चालु छ । ७७ सालमा हाम्रा विरुद्ध सानो घेराबन्दी होइन । ०७९ सालमा सानो घेराबन्दी होइन । ०७७ सालमा हाम्रो पार्टी नै कब्जा गरेर घेराबन्दी गरियो ।’
उनले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई विगतको योगदानसँगै क्षमता र सक्रियताका आधारमा पनि मूल्याङ्कन हुने भन्दै पार्टी काममा सक्रिय भएर लाग्न निर्देशन दिए ।
उनले भने, ‘इतिहासको मात्र कुरा गरेर, त्यसलाई मात्रै मापदण्ड बनाएर अब मूल्याङ्कन हुँदैन। विगतको इतिहास र योगदानसँगै अब क्षमता छ कि छैन, त्यसको पनि मूल्याङ्कन हुन्छ ।’
अध्यक्ष ओलीले कुनै विषयमा जतिसुकै विज्ञता भए पनि व्यवहारमा सक्रिय भएर काम नगर्ने हो भने त्यसको अर्थ नहुने बताए । लामो परिश्रम, त्याग र पार्टीको विश्वास जितेपछि मात्रै जिम्मेवारी प्राप्त हुने उल्लेख गर्दै ओलीले अब आफूले पाएको जिम्मेवारी कसरी पूरा गर्छन् भन्ने विषयमा सबैको परीक्षा सुरु भएको बताए।

